व्यवस्थाको लामो बहस कहिलेकाहीं व्यक्तिमा गएर टुंगिने रहेछ । देशको अर्थतन्त्र र राजनीतिक चेतनास्तरले जन्माएका नेताको विवेकले भ्याएसम्मका सबै क्रान्ति सकेर मुलुक यतिबेला सय पुग्ने बेलैमा सर्पको मुखबाट फेंदीमा झरेको लूँडो जस्तो भएको छ । हामीसँग के छैन ?
बडो सुन्दर र सभ्य भाषामा सबैलाई समेट्न प्रयत्नरत संसारकै सर्वोत्कृष्ट मध्ये एक संविधान छ । एकसे एक अब्बल नेता छन् । आफ्नो विज्ञताभन्दा उल्टो प्रवचन दिनसक्ने विज्ञ छन् । स्वयम् प्रधानमन्त्री कोरोनाको विशेषज्ञ डाक्टर झैं औषधिका मात्रा र परिमाणहरु बताउँनसक्ने छन् ।
बालुवाटारबाटै बाटाघाटा र पुलपुलेसाहरु उद्घाटन हुन थालेकाछन् । टेलिभिजनका पर्दामा प्रधानमन्त्रीको भाषण सुन्दा मुलुक चीन र अमेरिकाभन्दा समृद्ध भइसकेजस्तो भान हुन्छ । यस्तो देखिन्छ कि, यो सरकारको विरोधमा मतजाहेर गर्ने सबै विकास विरोधी हुन् ।
बालुवाटारका निम्ति अहिले यो सरकारको नजरमा दुईजना महाअपराधीहरु छन्, जस्तो देखिन्छ । प्रचण्ड र माधव नेपाल । बालुवाटार एमाले अध्यक्ष र उहाँका अनुयायीहरुका भनाइ, कटाक्ष, हाउभाउ सबै हेर्दा प्रचण्ड र माधव नेपालकै कारण यो सरकारले केही गर्न सकेको थिएन ।
ओली ‘बा’ नै यो मुलुकको कायापलट गर्ने एकमात्र सच्चा नेता हुन् भनिठान्ने साइबर स्यालहरुका छुद्र टिप्पणीमा यी दुई नेतालाई खुइल्याउन, नङ्ग्याउन केही बाँकी रहेको देखिएको छैन ।
माधव नेपालहरु समानान्तर कमिटी बनाउँदै जिल्ला जिल्लामा गइरहने, प्रचण्डहरु माओवादी केन्द्रको पुनर्गठनको लागि गाउँ–गाउँ जाने दिन आउँदा पनि बालुवाटार बस्नेहरुले वास्तविक समस्या के हो भनी खुट्याउन सकिरहेका छैनन् ।
ओली समूहले आफूलाई बहुदलीय जनवादको कट्टर अनुयायी ठानेको छ । जननेता मदन भण्डारीको बहुदलीय जनवाद नै आफ्नो मार्गदर्शक सिद्धान्त बताउने ओली समूहको पछिल्लो दाबि के छ भने ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीको मूल विभाजनको कारण नीतिमा आएको समस्या थियो ।
पार्टीले सरकार चलाउने र सरकार निर्वाध रुपमा स्वतन्त्र ढंगले चल्ने विषय नै मुख्य अन्तरविरोधको कारण हो भन्ने ओली नेतृत्वको दावि छ । केही हदसम्म यो दाविले मूल विषयमा प्रवेश गर्न खोजे पनि ओली समूहले भने जस्तो अन्तरविरोधको मूल कारण यो होइन । अन्तरविरोधको मूल कारण त अनुशासनहीनता र अराजकताको पराकाष्ठा हो । आफैले बनाएको विधानको धज्जी उडाउनु हो ।
अध्यक्ष केपी शर्मा ओली स्वयंले विधानको उल्लंघन गरेर विधिवत् रुपमा अराजकताको थालनी गरेका हुन् । अहिले यो अराजकता पार्टी कमिटीको तल्लो तहसम्म आइपुगेको छ ।
अराजकताको परिणाम भनेको विनाश नै हो । विनाशको श्रृँखला त पत्रकार महासंघको निर्वाचनबाटै देखिन थालिसकेको छ । यसको निरन्तरता नै हुनेछ आगामी निर्वाचनमा पनि ।
जनताको बहुदलीय जनवादको पहिलो श्रृँखलामा कम्युनिष्ट पार्टीको सोभियत संघ र पूर्वी युरोपमा कम्युनिष्टहरुको विघटनका विषयमा मदन भण्डारीले प्रष्ट रुपमा पार्टी भित्र अनुशासनको कुरो उल्लेख गर्नुभएको छ । अनुशासन, लगनशीलता र जनतासँगको घुलनशीलता, अनि प्रजातान्त्रिक निर्वाचनमा व्यापक जनमतद्वारा सत्ता प्राप्ति गर्दै समाजवादतर्फको यात्रामा जाने विषयमा त्यहाँ कुनै शंका छैन ।
‘पार्टीका कार्यकर्ताको व्यापक परिचालन, उत्पीडित, दमितहरुको पक्षमा निरन्तर बहस पैरवीका कारण तल्लो वर्गको सत्तामा व्यापक हस्तक्षेप हुनुपर्छ’ भन्ने विषयमा जबज स्पष्ट नै छ । जबजले सशस्त्र हस्तक्षेपलाई स्वीकार नगरी शान्तिपूर्ण रुपमा सत्ता कब्जाको योजना अघि सारेको हो ।
सरकारमा पुगिसकेपछि पार्टी र सरकारबीचको सम्बन्धविच्छेदको कल्पना त स्वयं मदन भण्डारीको विचारको अवज्ञा हुन जान्छ । मदनकै नाम लिएर उल्टो बाटो हिंड्ने ओलीको कदमकै कारण यी सब समस्या जन्मिएका हुन् ।
मदन भण्डारी त असहमत विचारहरुलाई पनि समेटेर लैजाने महान् कम्युनिष्ट नेता थिए । सत्ताको आडमा असहमतहरुलाई सोत्तर पार्ने महासँग्राममा छन्, उनका अनुयायी ओली । यो विचलन र पतनको मुख्य जड विधिमा भन्दा पनि विधिको पालना नगर्ने अहंकारी चरित्र बोकेका नेताहरुमा छ ।
सत्ताधारी दलभित्र नेतृत्व गरिरहेको एक जना व्यक्तिको अराजक शैलीकै कारण सिंगो मुलुक कमजोर हुँदै गएको छ । आफ्नो घर बलियो भए न अरुसँग लड्न सकिन्छ । ज्यूँदोजाग्दो शक्तिलाई छिन्नभिन्न बनाउने बाह्य शक्तिको इच्छालाई बेलैमा बुझ्न नसक्दा ओली आफ्नो स्तुति गाउने टुकडीका कमाण्डरमा परिणत भएका छन् ।
उनलाई त सिंगो मुलुकको राष्ट्रनायक बन्ने महान् अवसर थियो । सत्ताको ताबेदारीमा रमेका केही भरौटेहरुले राजनेताको जयगान गाउँदैमा कोही राजनेता हुनसक्दैन । राजनेता त्यही हो, जसले असहमत विचारहरुलाई समेत आफ्नो मूलप्रवाहमा समेटेर सबैको नेतृत्व गर्न सक्दछ ।
ओलीको यही असक्षमताकै कारण मुलुक विघटनको दुष्चक्रमा परेको छ । आफू निकटका अरौटेभरौटेलाई मात्रै निर्णायक तहमा पुर्याउनु, विचार होइन व्यक्ति प्रधान दलको रुपमा आफ्नो दललाई विकसित गर्दै सत्ताको चरम दोहन गर्ने ओली गुटले नेपालमा सिंगो वामपन्थी आन्दोलननै विघटन हुने खतरा बढेको छ ।
पार्टी र सरकार संचालनमा भएका अष्पस्टताहरुको खोजी दलभित्रै गर्नुपथ्र्यो । जुन दलको संगठनका कारण आफू सत्तामा विराजमान भइयो, त्यसप्रति उत्तरदायी हुनुपथ्र्यो । यदि पार्टीलाई सरकार मातहत नै चलाउने हो या पार्टीलाई सरकारभन्दा पृथक् ठान्ने हो भने त्यो कुनै पनि अर्थमा कम्युनिष्ट पार्टीको हँसिया हथौडा उचाल्ने अधिकारभित्र पर्दैन ।
जनतालाई हँसिया हथौडा र सूर्य चिह्न देखाएर लोभ्याइरहने तर विधि, पद्धति भने चरम दलाल, पूँजीवादी चरित्रको हुने हो भने एउटा बिन्दुमा पुगेपछि जनताले दोहोरो चरित्रका मानिसहरुलाई स्वतः विघटन गरिदिनेछन् । अहिले त्यसैका लक्षणहरु देखिएका हुन् ।
अहिले प्रचण्ड र माधव नेपाललाई धारेहात लगाएर मुक्ति पाइएला । तर, भोलिका दिनमा यो समस्याले फेरि सिंगो एमालेलाई पनि सिध्याउनेछ । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने अथवा बहुदलीय प्रतिस्पर्धामा जनमतबाट सत्तामा निर्वाचित हुन चाहने जो कोही पनि अनुशासनको दायराभित्र बाँधिनै पर्दछ ।
पार्टी कमिटीप्रति उत्तरदायी हुनैपर्दछ । तलका कार्यकर्तालाई मात्रै नियम र अनुशासन लागू हुने, माथिका नेताले जे गरे पनि हुने यो प्रवृत्ति सोह्रै आना गलत छ । पार्टी शीर्ष तहमा रहेका नेताले गूटको शासन चलाएपछि विद्रोह स्वाभाविक नै हो ।
त्यो विद्रोह अनुशासन पालन, विधि र पद्धति, माक्र्सवादी दर्शनले कल्पना गरेको नेपालको सन्दर्भमा सम्भाव्य समाजवादको बाटोतिर मोडिन उत्प्रेरित गर्ने रचनात्मक विद्रोह हुनपर्छ । केपी ओलीले खडा गरेको दुष्चक्रलाई चिर्ने यो भन्दा अर्को कुनै विकल्प छैन ।
सत्ता क्षणिक कुरा हो तर, नीति, सिद्धान्त र मार्गदर्शन महत्वपूर्ण कुरा हो । जबजको अपव्याख्या र पार्टी संगठनलाई ध्वस्त बनाउन अध्यक्ष स्वयम् जिम्मेवार छन् ।
हरेक कार्यकर्ताले व्यापक शुद्धिकरणको निम्ति शिक्षा, स्वास्थ्य, संचार लगायत पार्टीको हाइकमाण्ड र सरकारका महत्वपूर्ण अवयवमा कब्जा जमाएका दलालहरुको बहिगर्मनको निम्ति वैचारिकरुपमा आफूलाई बलियो बनाउन जरुरी छ । संघर्ष जटिल छ । सत्ता र शक्ति भएकासँग विचार भएका लड्नु सहज हुँदै होइन, तर एकदिन यो दुष्चक्रको अन्त्य हुने नै छ ।
मदनपोखरा, पाल्पा