काठमाडौं । सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड–१९ उपचार गर्ने आईसीयूमा रहेको खुलासा भएको छ ।
कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएका प्रदेश सभा सदस्य शाह पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन् । उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए ।
प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको पोखरेलले बताए । उनले भने, ‘हामीसँग कोरोनाका ४२ बिरामी छन्, उहाँ पनि एक हो ।’
गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भएको थियो ।
अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिएकी थिइन् ।