गोरो र चम्किलो छाला अधिकांशको चाहना हुन्छ । धेरै मानिस बजारका आकर्षक विज्ञापन हेरेर अनुहार गोरो बनाउन अनेक सौन्दर्य सामग्री प्रयोग गर्छन् । तर, बजारमा पाइने सौन्दर्य सामग्रीले सबैलाई गोरो बनाउँछ भन्ने हुँदैन । यस्तो सामग्रीको प्रयोगले खर्च त बढ्छ नै, कहिलेकहीँ नकारात्मक असरसमेत गर्छ ।
अनुहारको छाला गोरो र चम्किलो बनाउन बजारका सौन्दर्य सामग्री प्रयोग गर्नुपर्छ भन्ने छैन । परापूर्वकालदेखि प्रयोग हुँदै आएका प्राकृतिक सामग्रीले पनि अनुहारलाई गोरो र चम्किलो बनाउन सकिन्छ ।
अनुहार गोरो बनाउने घरेलु सामग्री र प्रयोग विधि
मेवा : पाकेको मेवालाई मसिनो काटेर मिक्सचरमा पिस्ने । पेष्ट बनेपछि अनुहारमा लगाउने । २० मिनेटसम्म छोड्ने र सुकेपछि चिसो पानीले पखाल्ने । मेवामा भएको ‘इन्जाइम’ले छालालाई गोरो बनाउँछ । घामबाट डढेको छालालाई यसले राम्रो बनाइ छालाबाट मृत कोषिका र फोहोरलाई हटाउँछ ।
दही : दहीलाई छालाको स्याहारमा प्रयोग गर्न सकिन्छ । दहीमा पाइने ‘ल्याक्टिक एसिड’ले छालामा भएको दाग धब्बा हटाउँछ । घामले डढेको ठीक गर्छ भने छालालाई प्राकृतिकरूपमा गोरो र चम्किलो बनाउँछ । एक चम्चा दहीमा आधा चम्चा मह मिसाई प्याक बनाएर अनुहारमा लगाउने । र, १५ मिनेटसम्म राखेर चिसो पानीले पखाल्ने । दही र महको मिश्रणले छालालाई गोरो बनाउनुका साथै चाउरीपन पनि हटाउँछ ।
कागती : कागतीमा छाला गोरो बनाउने गुण सबैभन्दा बढी हुन्छ । त्यसैले कागती प्रयोग गरी छालालाई प्राकृतिकरुपमा गोरो बनाउन सकिन्छ । कागतीलाई प्राकृतिक ‘व्लिच’को रूपमा लिइन्छ । कागतीको रस निकालेर महमा मिसाइ अनुहारमा लगाउनुपर्छ । १५ मिनेटसम्म राखेर पानीले पखाल्नु पर्छ । त्यसपछि टोनर र सनस्क्रिन वा मोइस्चराइजर लगाउनुपर्छ । तर, कागतीको प्रयोग सबैलाई राम्रो हुन्छ भन्ने हुँदैन । विशेषगरी सुक्खा र संवेदनशील छालामा यसको प्रयोग नगर्दा राम्रो हुन्छ ।
बेसार : बेसारलाई आयुर्वेदमा धेरै प्रयोग गरेको पाइन्छ । बेसारमा प्राकृतिकरूपमा ब्याक्टेरिया मार्ने गुण हुन्छ । यसको प्रयोगले छालामा भएको फोहर हट्नुको साथै मृत कोषिका पनि हट्छ र छालालई गोरो बनाउँछ । बेसारमा दही वा दूधमा मिसाई अनुहारमा लगाउने र २० मिनेटपछि पखाल्नुपर्छ ।
चामलको पिठो : चामलको पिठो मसिनो गरी पिस्ने र दूधसँग मिसाई पेष्ट बनाउने । अनुहारमा लगाई १५ मिनेटसम्म राखेर पखाल्ने । चामलको पिठो र दूधको मिश्रणले छालालाई गोरो, चम्किलो र स्वस्थ बनाउँछ ।
केरा : केरालाई मिचेर मसिनो बनाउने । त्यसपछि महमा मिसाई पेष्ट तयार पर्ने । उक्त पेष्ट अनुहारमा लगाई १० मिनेटमा मनतातो पानीले पखाल्ने । केरा र महको मिश्रणबाट बनेको प्याकको प्रयोगबाट पनि अनुहारको छालालाई गोरो र चम्किलो बनाउन सकिन्छ ।
माथि उल्लेखित घरेलु उपाय अपनाउँदा छालालाई गोरो, चम्किलो र स्वस्थ बनाउन सकिन्छ । तर, हरेक सामग्रीले सबैलाई राम्रो गर्छ भन्ने हुँदैन । घरेलु उपचारले पनि छालालाई असर गर्न सक्छ । एलर्जी भइ पोल्नेजस्ता समस्या हुनसक्छ । त्यसैले प्रयोग गर्नु अगाडि प्याच टेष्ट गर्नु जरूरी हुन्छ । र, प्रयोग गर्दा पोल्ने, रातो बिमिरा आउनेजस्ता समस्या भए प्रयोग बन्द गर्नुपर्छ । सनस्क्रिन र मोइस्चराइजर अनिवार्य लगाउनुपर्छ । घाममा बसेर कुनै पनि प्याक लगाउनु हुँदैन ।
अन्य उपाय
घरेलु सामग्री प्रयोग गरेर छाला गोरो बनाउन सकिन्छ । यसका लागि लामो समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ । आवश्यक परेको खण्डमा चिकित्सकसँग परामर्श लिई उपचार गर्नुपर्ने हुन्छ । ‘केमिकल पिल’, ‘स्किन मिजो’, ‘हाइड्राफेसियल’ जस्ता उपचार गर्न सकिन्छ । ‘ग्लुटाथियन’ सबैभन्दा प्रभावकारी उपचार हो । यसले छालामा ‘मेलानिन’ कम गरी सम्पूर्ण शरीरको छाला गोरो हुन्छ ।
स्वस्थ्य जीवनशैली
प्रशस्त पानी पिउने, योगा तथा व्यायाम गर्ने, कमसेकम ४० एसपीएफको सनस्क्रिन अनिवार्य लगाउने र हरेक दुई घण्टामा पुनः लगाउने गर्नुपर्छ । यसले छालालाई घाम तथा प्रदूषणबाट बचाउँछ । मोइस्चराइजरको प्रयोग गर्ने । हप्तामा एकपटक स्क्रब गर्ने । यसले छालाबाट मृत कोषिकालाई हटाउँछ । धुमपान तथा मद्यपानले छाला कालो बनाउँछ । त्यसैले धुमपान तथा मद्यपान नगर्ने । स्वस्थ जीवन जीउने कोसिस गर्नुपर्छ । जब शरीर स्वस्थ्य हुन्छ, छाला पनि स्वस्थ र चम्किलो हुन्छ ।
(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )