नेपाली कांग्रेस, पार्टी मात्र होइन, पाटी पनि हो, जहाँ हावा, हुरी तथा घामपानी छल्न ओत लाग्नेहरु हुलका हुल भएर भित्र पस्छन्, बाहिरको संकट नटरेसम्म ती सबै एकाघरका परिवारका सदस्यजस्ता आत्मीय भएर मिलेर बस्छन् पनि, देख्दा त्यो बडो शक्तिशाली पनि देखिन्छ, त्यसभित्र कल्पनाशील, युगान्तकारी तथा अग्रगामी योजना र कार्यक्रममाथि ठूल्ठूला चर्चा र छलफल पनि हुन्छन्, काम गर्ने जोश र जाँगर पनि देखाउँछन्, हिमालको शितलता मधेसमा छर्ने, पहाडलाई स्वर्गमा परिणत गर्ने र चन्द्रलोकमा गाउँ बसाउने कुरा गरेर थाक्दैनन् पनि, तर जब हावा, हुरी थामिन्छ, मौसम छ्याङ्गै उघ्रिन्छ तब ती सबै आ–आफ्नो बाटो लाग्छन् र छताछुल्ल भएर छरिन्छन् । त्यस बेला कांग्रेसको पुरानो घर कुरीदिने मानिस पाउन पनि कठिन हुन्छ ।
कांग्रेस नै एक यस्तो दल हो, गत वर्ष भएको संसदको चुनावमा जसले कम्युनिष्टलेभन्दा थोरै मतको अन्तरले पछाडि परे पनि सिट भने धेरै संख्यमा गुमाउनु परेको थियो । त्यही चुनावी परिणामले सावित गरेको छ, कांग्रेस व्यवस्थापकीय कौशलताविहीन मात्र होइन, लथालिङ्ग चालाले घस्रिरहेको असहाय दल हो, जसका कुनै अंगले काम गरेको छैन, तैपनि घस्रिन भने छाडेको छैन । विख्यात कथाकार फ्रान्ज काफ्काको कथा– मेटामरफसिस, अहिले कांग्रेसको प्रतीक बन्न पुगेको छ । त्यो भनेको कांग्रेसका सबै अंग प्रत्यंग यथास्थान दुरुस्त छन् । विधान, नियम र प्रक्रिया पनि छन् । केन्द्रमा दर्जनौं विभाग छन् । राज्य, जिल्ला, क्षेत्र, नगर र गाउँका वडासम्म शाखा प्रशाखाका संजाल फैलिएका छन् । ती सबैका बावजूद कांग्रेस मेटामरफसिसमा परिणत भएको छ । उसका कुनै पनि अंगले काम गरेका छैनन् । अपाहिज भएर थला परेको छ ।
कांग्रेसप्रतिको त्यस्तो टिप्पणी अरु कसैको होइन, त्यसका संस्थापक नेता तथा २० वर्षसम्म लगातार नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका कृष्णप्रसाद भट्टराईको हो । २०३२ सालको कार्तिकमा नक्खुजेलभित्र मनाइएको क्रान्ति दिवसका अवसरमा प्रमुख अतिथिको आसनबाट राजबन्दीहरुलाई सम्वोधन गर्ने क्रममा उनले त्यस प्रकारको व्यंग गरेका थिए । निश्चय पनि जुन बेला उनले माथिको टिप्पणी गरेका थिए, त्यस बेला पार्टी प्रतिवन्धित थियो र उनी सभापति पनि बनिसकेका थिएनन् । उनको अभिव्यक्तिमा २०१७ साल पुस १ गतेको राजा महेन्द्रको प्रतिगामी कदमपछिको नौ वर्ष लामो जेल जीवनबाट मुक्त भएपछिको दुई वर्षको भुक्तमानको कटु अनुभवका कथा–व्यथाप्रतिको व्यंग थियो ।
त्यो व्यंग मात्र पनि थिएन । नेपालको इतिहासको विशेष कालखण्डको यथार्थको सटिक तस्वीर पनि थियो । इतिहासको चक्र यसरी घुमेको छ कि कांग्रेस संख्यात्मक रुपमा नभए पनि मानसिक रुपमा फेरि फनक्क घुमेर त्यही मोडमा पुगेको छ, जहाँ एक दिन सन्तनेताले आफ्नो विरक्तिलाई व्यंगमा घोलेर पोख्नु परेको थियो ।
कांग्रेस अस्तित्वमा रहेका दलहरुमा सबैभन्दा पुरानो, ठूलो र जनाधार भएको दल हो । उदार प्रजातन्त्रको आदर्श अंगालेको र विश्वले मान्यता प्रदान गरेको नेपालको एक मात्र प्रजातान्त्रिक पार्टी पनि हो । अनि कांग्रेस नै एक यस्तो दल हो, गत वर्ष भएको संसदको चुनावमा जसले कम्युनिष्टलेभन्दा थोरै मतको अन्तरले पछाडि परे पनि सिट भने धेरै संख्यमा गुमाउनु परेको थियो । त्यही चुनावी परिणामले सावित गरेको छ, कांग्रेस व्यवस्थापकीय कौशलताविहीन मात्र होइन, लथालिङ्ग चालाले घस्रिरहेको असहाय दल हो, जसका कुनै अंगले काम गरेको छैन, तैपनि घस्रिन भने छाडेको छैन ।
विख्यात कथाकार फ्रान्ज काफ्काको कथा– मेटामरफसिस, अहिले कांग्रेसको प्रतीक बन्न पुगेको छ । त्यो भनेको कांग्रेसका सबै अंग प्रत्यंग यथास्थान दुरुस्त छन् । विधान, नियम र प्रक्रिया पनि छन् । केन्द्रमा दर्जनौं विभाग छन् । राज्य, जिल्ला, क्षेत्र, नगर र गाउँका वडासम्म शाखा प्रशाखाका संजाल फैलिएका छन् । दर्जनौं भातृसंस्थाका संजाल पनि स्वदेश र विदेशमा फैलिएका छन् । ती सबैलाई संचालन तथा अनुगमन गर्न केन्द्रमा भव्य तथा विशाल कार्यालय खडा छ । कम्प्युटराइज्ड सिस्टम पनि छ । विश्वभरिका शाखा–प्रशाखालाई नेटवर्कले जोडिएको पनि छ । त्यसका लागि आवश्यक जनशक्ति पनि छन् । ती सबैका बावजूद कांग्रेस मेटामरफसिसमा परिणत भएको छ । उसका कुनै पनि अंगले काम गरेका छैनन् । अपाहिज भएर थला परेको छ ।
भनिन्छ, ग्रुपिजमले गर्दा कांग्रेस अपाङ्ग भयो । वास्तवमा ग्रुपिजम नभएर कांग्रेस अकर्मण्य र गतिहीन भएको हो । सैद्धान्तिक बहस, त्यसको कार्यान्वयनका निम्ति नीति र कार्यक्रममा प्रतिस्पर्धाका लागि ग्रुपिजम अपरिहार्य हुन्छ । त्यसको अभावमा कांग्रेसमा जे भइरहेको छ, त्यो नितान्त पदलोलुपता र अवसरवादिता हो । ग्र्ुपिजमले संगठनलाई अग्रगति प्रदान गर्छ, स्वार्थ र पदलोलुपताले यथास्थितिमा पार्टीलाई “ह्याङ” तुल्याइदिन्छ ।
अहिले के देखिन्छ भने कांग्रेसका पदाधिकारी तथा नेताहरु संगठनका अंग–प्रत्यंग सुचारु तुल्याउन होइन, चल्नै नदिन कटिवद्ध भएर लागेका छन् । उसका क्रियाकलापले त्यही सिद्ध गरेका छन् । नयाँ संविधानले संघीयताको व्यवस्था गरेकाले पार्टीको विधानमा त्यसलाई समावेश तुल्याउन विधान संशोधन आवश्यक मात्र होइन, अनिवार्य पनि थियो । त्यसका लागि बसेको महासमितिको बैठकमा अनेक प्रकारका वखेडा खडा गरेर विधान पारित गरिएन, त्यो कामको जिम्मा पनि केन्द्रीय समितिमाथि थपियो । सभापति शेरबहादुर देउवाको अत्यधिक बहुमत भए पनि सबैलाई समेटेर लैजाने नीति अनुरुप सकेसम्म सर्वसम्मतिले विधान पारित गराउने ठूलो प्रयास भयो । पार्टीभित्र अनेक गुट–उपगुटको अस्तित्व देखाउने र त्यसका आधारमा एकातिर मोलमोलाई गर्ने र अर्कोतिर सभापतिको नेतृत्व असक्षम सावित गर्न असहमत पक्षबाट कोठे बैठकको शृंखला चलाइयो । त्यत्ति मात्र होइन, आगामी अधिवेशनमा नेतृत्व हत्याउन अहिलेदेखि उनीहरुको म्याराथन दौड चलिसकेको छ । व्यक्तिगत महत्वाकांक्षाको त्यस्तो नाङ्गो नाँच देखाएर उनीहरुले निर्दलीय पंचायतका उमेदवारलाई पनि उछिन्ने काम गरेका छन् ।
केन्द्रीय समितिलाई त्यस प्रकार अनिर्णयको बन्दी तुल्याउने उनीहरुको षड्यन्त्रलाई चिरेर सभापति देउवाले अत्यधिक बहुमतबाट विधान पारित गराएपछि उनीहरुले नोट अफ डिसेन्टको नाटक गरे । त्यो नाटक थियो किन भनिएको हो भने ८४ जनाको केन्द्रीय कार्यमितिका सदस्यमध्ये १२ जनाले नोट अफ डिसेन्ट लेख्नु र ठूलो बहुमतको निर्णयलाई लत्याएर त्यही नोट अफ डिसेन्ट अनुसार हुनुपर्छ भनेर जिल्ला सभापतिहरुबाट वक्तव्य निकाल्न लगाउनु उनीहरुको अप्रजातान्त्रिक आचरण मात्र होइन, घोर अराजक चरित्रको भद्दा प्रदर्शन पनि हो ।
अनुशासनहीनता चरमोत्कर्षमा पुगेको कांग्रेसभित्र त्यसको दुरावस्था कति दयनीय छ भने अनुशासन समिति गठनको अधिकार पनि उनीहरुलाई चाहियो, जसलाई अनुशासन मिच्ने आदत बसिसकेको छ । विधान र परम्परागत अभ्यास अनुसार सभापतिले अनुशासन समितिका संयोजक र सदस्यहरुको नाम प्रस्ताव गर्ने र केन्द्रीय समितिको बहुमतले त्यसको अनुमोदन गर्ने गरिएको छ । त्यो परम्परा विपरीत असहमत पक्षले दबाब सिर्जना गरेर त्यसको संयोजक पद पनि उनीहरुलाई चाहियो भन्ने माग कसरी जायज हुनसक्छ ? नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन हुन नसक्नुका पछाडि पनि त्यही मनोविज्ञानले काम गरेको छ । केन्द्रीय विभाग, तरुणदलको विस्तारजस्ता नयाँ तथा उर्जावान् कार्यकर्ताहरु परिचालन गर्ने निकाय यसकारण निस्क्रिय छन् कि नेतृत्वले पार्टीभित्र व्याप्त रहेको अनुशासनहीनतामाथि अंकुस लगाउने चेष्टा नै गर्न सकेको छैन । सभापति देउवाको सबैलाई साथ लिएर अघि बढ्ने उदारवादी नीति, उनको तागत होइन, कमजोरी सावित भइरहेको छ । उनले कमाण्ड गरेको बहुमत भने ढोडको लौरो बन्नपुगेको छ । असहमत पक्षलाई सहमत तुल्याउन खोज्दाखोज्दै कांग्रेस काफ्काको “मेटामरफसिस” बनिसकेको छ । सबै अंग छन् तर कुनै पनि अंग चल्दैनन् । त्यस्तो अशक्त अवस्था टुलुटुलु हेरेर बस्न अभिशष्त अवस्था हो– मेटामरफसिस । त्यही अवस्था कांग्रेसको छ । देउवाले कांग्रेसलाई त्यसबाट बाहिर निकालेर पुनर्जागरित गर्ने हो भने विधि र प्रक्रिया लत्याएर सबैलाई समेट्ने र सहमति जुटाउने भ्रमबाट मुक्त हुनुपर्छ । हाम्रो शास्त्रले “वीर भोग्या वसुन्धरा” त्यसै भनेको होइन, त्यसको हेक्का राख्नुपर्छ ।