Logo
Logo

संक्रमित आइसोलेसनमा बस्न नमान्दा काेराेना फैलिने खतरा


हिक्मत बम

315
Shares

धनगढी । भारतबाट घर फर्किएका नेपालीहरु आइसोलेसनमा बस्न नमान्दा संक्रमण फैलने खतरा बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतबाट फर्किएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएपनि उनीहरु आइसोलेसनमा बस्न नमान्दा संक्रमण फैलिँदै गएको स्वास्थ्यकर्मीहरु बताउछन् ।

जिल्लाको झुलाघाट नाकाबाट घर फर्किने नागरिकको एन्टिजेन परीक्षण गरिन्छ । एन्टिजेन पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको छ । तर, उनीहरु आइसोलेसनको अवधिभर बस्न नमान्दा संक्रमण गाउँ गाउँमा कोरोना संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइन बस्न भनिएको छ । तर, उनीहरु पनि होम आइसोलसनमा बस्न मान्दैन । जसले गर्दा संक्रमण तीव्र फैलने खतरा बढेको छ ।

जिल्लामा अहिले छ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये एक सय १५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन् । बाँकी होम आइसोलेसन रहेको स्वास्थ्य कार्यालयले जनाएपनि उनीहरु होम आइसोलेसनमा नबसेको स्थानीय बताउछन् । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि चार जनाको मृत्यु भइसकेको छ ।

संक्रमितहरु संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । होम आइसोलेसनको नियम पालना नगर्दा घरपरिवार र गाउँघरमा संक्रमण बढेको भट्टकाे भनाइ छ ।

आइसोलेसन बस्न संक्रमितले अटेरी गरिरहेका उनले बताए । ‘होम आइसोलेसनको पालनानै गर्दैनन्, त्यसैले संक्रमण दिनप्रति दिन बढ्दै गएको छ,’ उनले भने ।

स्थानीय तहहरुले निर्माण गरेका आइसोलेसनमा बस्ने संक्रमितको संख्या कम छ । आइसोलेसनमा राम्रो व्यवस्था नभएकाले संक्रमितहरु बस्न नमान्ने गरेको प्रमुख भट्टले बताए । उनले भने, ‘स्थानीय तहहरुले आइसोलेसन मात्रै निर्माण गरे । त्यहाँ बस्ने संक्रमितको व्यवस्थापनमा ध्यान दिएनन् । त्यसैले संक्रमितहरु संस्थागत आइसोलेसनमा नबसेर भयावहको स्थिति आएको हो । ’

पाटन नगरपालिकामा एक सय १८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये अधिकांश होम आइसोलसनमा रहेको नगारपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ‘संक्रमितहरु स्वास्थ्य अवस्था सामान्य छ भनेर संस्थागत आइसोलेसन बस्न मान्दैनन्,’ उनले भने, ‘होम आइसोलसन बस्दा उनीहरुले त्यति ध्यान नदिने गरेका कारण संक्रमण फैलँदै गएको छ ।’

भारतबाट फर्किएकाहरु सिधै घर जाँदा संक्रमणको जोखिम बढेको दोगडाकेदारका स्थानीय महेश महारा बताउँछन् । जिल्ला अस्पतालको आइसोलेसनमा १३ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १० जनाको अक्सिजनको सहारामा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रमुख डा.बसन्तराज जोशीले बताए ।

बैतडीका १८ ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरिएका छन् । तीमध्ये १० वटा स्थानीय तहले स्थापना गरेका आइसोलेसन हुन् । ती आइसोलेसनमा दुई सय ५६ शय्या रहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

संस्थागत आइसोलेसन व्यवस्थित नभएको भन्दै संक्रमितहरु सिधै गाउँ जाने भएकाले संक्रमण दर दिनप्रति दिन बढ्दै गएको देखिन्छ । खुल्ला सीमानाकाका कारण सुदूरपश्चिम प्रदेशमा संक्रमणको दर बढ्दै गएको हो ।

स्थानीय तह र प्रदेश सरकारले सीमानाकाबाट नेपाल भित्रिएकाहरुको व्यवस्थापनमा ध्यान नदिने हो भने संक्रमणले सुदूरपश्चिम आक्रन्त बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्