Logo
Logo

‘ओली पछि नफर्के एमाले एक रहँदैन’


दृष्टि संवाददाता

4k
Shares

काठमाडौं । नेकपा एमालेलाई विभाजनबाट बचाउने एक मात्र कडी ‘जेठ दुई’ बनेको छ । यो भन्दा अरु विकल्पमा एमाले एक रहने सम्भावना कम हुँदै गएको हो । जेठ २ अर्थात नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको मिति २०७५ जेठ ३ गतेको अघिल्लो दिन जेठ २ गते हो । नेकपा खारेज गर्दै सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युँताएपछिको अवस्था सोही जेठ २ मा पुगेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यसै विषयलाई ‘बटमलाइन’ बनाएका छन् । सर्वोच्च अदालतले पार्टी ब्युँताएपछि सबै पुरानै अवस्थामा आएकाले सोहीअनुसार पार्टीको गतिविधि हुनुपर्ने माधव समूहले माग गर्दै आएको छ ।

सर्वोच्चले पार्टी ब्युँताएको २०७७ फागुन २३ यताका सबै निर्णय खारेज हुनुपर्ने माधव समूहको माग हो । यस अवधिमा नेकपा एमालेमा अनेक निर्णय भएका छन् । वरिष्ठ नेता नेपालसहित अन्य नेता र सांसदलाई कारवाही भएको छ । नवौं महाविधेशनको वैधानिकता नै समाप्त भएको छ ।
आजै एमाले निकट वरिष्ठ कानुन व्यवसायी शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द वन्दीले वरिष्ठ नेता नेपाललाई भेटेर पार्टीभित्रै संघर्ष गर्न सुझाव दिएका छन् । कानुन व्यवसायीसँगको भेटमासमेत नेता नेपालले आफू पार्टी जोगाउनलाई जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिकृया दिएका थिए । जसका लागि पार्टीलाई जेठ २ मा फर्काउनुपर्ने उनको अडान थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ मा फर्कन सहज त छैन । तर, असम्भव भने होइन । फार्टी नै विभाजन हुने अवस्थामा पुगेकाले यो अवधिमा भएका गल्तीहरु सच्याउन पार्टीलाई पुरानै अवस्था पुर्याउन सकिने ओली निकट नेताको भनाइ छ ।

अध्यक्ष ओली फागुन २३ गते यताका केही निर्णयबाट पछि हट्न तयार भए पनि सबै निर्णयबाट पछि हट्न नसक्ने माधव समूहको बुझाइ छ । पार्टी अध्यक्ष ‘ओली पछि नफर्के एमाले एक रहँदैन’ भन्नेमा माधव समूहका सबै नेता एकमत छन् ।

प्रतिक्रिया दिनुहोस्