Logo
Logo

‘जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको छ’


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको बताएका छन् ।

आज मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान समेत गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा भिन्नै मौलिक पहिचान रहेको सन्देशमा उनले भनेका छन् ।

‘मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको छ’, प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन्देशमा प्रचण्डले मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको उल्लेख गरेका छन् । ​बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको उनको भनाई छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ ।’ उनले भनेका छन् । विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि प्रचण्डले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्