काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ । नेकपा एमालेको विवाद मिलाउने विषयमा अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल हुनेभएको हो ।
बिहीबार दुईजनाबीच भएको छलफलमा विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार आजको छलफलले कार्यदलमा रहनेको नाम टुंगो लगाउने बताइएको छ ।
यसअघि दुई नेताबीच भएको वार्तामा कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल रहनेबारे छलफल भएको थियो ।
यस्तै, नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य रहने बताइएको थियो । आजको बैठकले सोही सदस्यको नाम टुंगो लगाउने बुझिएको छ ।
गठन हुने कायर्दलले दुई पक्षबीच रहेको मतभेद पहिल्याउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि भूमिका खेल्ने केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङले जानकारी दिए । माधव समूहले २०७५ जेठ २ को अवस्थामा पुर्याउनुपर्ने अडान राख्दै आएको छ ।
जेठ २ को अवस्था पुग्नु भनेको माओवादी र एमालेबीचको एकता प्रक्रिया भन्दा आगडीको अवस्थामा पुग्नु हो । नेता नेपालले राख्दै आएको माग अनुसार सर्वोच्चले नेकपा खारेज गरे यता एमालेले गरेका सम्पूर्ण निर्णय खारेज गर्नुपर्ने हुन्छ ।