काठमाडौं । एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले असहयोग गरेपछि संघीय सरकार बनाउन नसकेको विपक्षी गठबन्धन राष्ट्रिय सभा उपनिर्वाचनमा पनि दबाबमा देखिएको छ । सत्तारुढ एमालेको आन्तरिक राजनीतिमा फेरबदल आएपछि राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जोखिममा परेका छन् ।
पार्टीको आन्तरिक विवाद समाधानउन्मुख देखिएपछि एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापालाई ‘राहत’ भएको छ । तर, एमालेकै माधव नेपाल–झलनाथ खनाल समूहबाट प्रस्तावित भएका, तर स्वतन्त्र उम्मेदवारी दिएका डा। खिमलाल देवकोटालाई कठिन अवस्था पैदा भएको छ ।
कांग्रेस, माओवादी र जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समूहको समेत समर्थन लिएर उम्मेदवारी दिएका डा. देवकोटाबारे खनाल–नेपाल समूहले लिने अन्तिम निर्णयले उनको हारजितको सुनिश्चितता गर्नेछ । ओली र नेपाल कार्यदल बनाएर पार्टी विवाद टुंग्याउन सहमत भएका छन्, जसले संघीय सरकार गठन गर्ने विपक्षी गठबन्धनको योजना असफल भएको थियो । स्रोतका अनुसार देवकोटालाई उम्मेदवार बनाउने नेपालको प्रस्तावमा देउवा र प्रचण्डले समर्थन गरेका थिए ।
बागमती प्रदेशमा आगामी ६ जेठमा हुने राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनमा एमालेकै दुईजना उम्मेदवार उठेपछि गृहमन्त्री थापा जोखिममा परेका थिए । विपक्षी दलहरूको गठबन्धनले एमालेकै असन्तुष्ट पक्षका देवकोटालाई बनाएसँगै जोखिममा परेका गृहमन्त्री थापाका लागि चुनावी नतिजा आफ्नो अनुकूल बनाउन केही राहत त भएको छ, तर एमाले विवाद अझै अन्तिम सहमतिमा नपुगेकाले ढुक्क हुने अवस्था भने बनिसकेको छैन ।
पछिल्लो समय पार्टी एकता कायम राख्ने भन्दै ओली र खनाल–नेपाल समूहले वार्ता र संवाद थालेपछि थापाको जित्ने सम्भावना बलियो बनेको हो । एमालेका दुवै पक्षले पार्टीको उम्मेदवार थापा नै भएको बताएका छन् । खनाल–नेपाल पक्षका नेता तथा संघीय संसद्को प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता जीवनराम श्रेष्ठले एमालेको उम्मेदवार थापा नै भएको बताए ।
‘खिमलालजीको उम्मेदवारी एमालेसँग सम्बन्धित विषय होइन । उहाँ विपक्षी दलहरूको साझा उम्मेदवार हुनुहुन्छ । प्रस्तावक र समर्थक नै कांग्रेस र माओवादी भएर उम्मेदवारी दर्ता गराउनुभएको छ,’ नेता श्रेष्ठले भने, ‘हाम्रो सद्भाव रहनु एउटा कुरा हो, हामी नेकपा एमाले भएर उहाँलाई समर्थन गरेका थिएनौँ, सक्दैनौँ ।’
श्रेष्ठले एमाले विभाजन भइसकेको अवस्था भएको भए फरक परिस्थिति हुने भए पनि पार्टी एकै भएको अवस्थामा आफ्नो कुनै भूमिका नरहने बताए । उनले उम्मेदवार देवकोटा संविधानले कल्पना गरेको विज्ञ र राष्ट्रिय व्यक्तित्वका हिसाबले विपक्षी दलको मात्रै उम्मेदवार भएको र आफ्नो उम्मेदवार थापा नै भएको बताए ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।