Logo
Logo

नेपालीलाई विदेश जान रोक, तर भारतीयलाई १० उडानको अनुमति


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडौं । आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ  । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको थियो  । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय दूतावासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी अरेबिया जान अनुमति दिएको हो  ।

साउदी जाने उडानले एकतर्फी मात्रै यात्रु लैजान पाउने स्वीकृति दिएको छ । जसले गर्दा विदेशमा अलपत्र नेपाली सो उडानमार्फत फर्कन नपाउने भएका छन्  । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको थियो ।

१५ वैशाखदेखि रोक लगाउने अध्यागमन विभागको निर्णय १५ दिन नबित्दै भारतीय नागरिकका लागि भने खुला गरिएको हो  । जब कि साउदी अरेबिया रोजगारीका लागि जान ठिक्क परेका १५ सय नेपाली उडान बन्द भएपछि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए  । आफ्ना नागरिकलाई रोजगारीमा जान रोक्ने सरकारले भारतीयलाई भने चार्टर गर्न दिनु आश्चर्यजनक छ  ।

सातामा नेपाल वायुसेवा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्न अनुमति पाएका हुन्  । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै झन्डै एक हजार पाँच सय भारतीय नेपालमा रोकिएको अनुमान छ  ।

‘नयाँ आउने भारतीयलाई जान दिने भन्ने होइन, यहाँ रोकिएर बसेका भारतीयलाई साउदी जान दिने गरी उडान खुला गरिएको हो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने  । मंगलबारदेखि नै उडान सुरु हुनेसमेत पोखरेलले जानकारी दिए  । भारतीय दूतावासले पठाउने नामको सूचीअनुसार निगम र हिमालय एयरलाइन्ससँग समन्वय गर्नेले जान पाउनेसमेत पोखरेलले जानकारी दिए । नेपाल आएर १० दिन क्वारेन्टिन बसेको, पिसिआर परीक्षण गरेको र भारतीय दूतावासको लेटर लिएर आउनेले मात्रै जान पाउनेछन्  ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्