काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यादल अलमलमा परेको छ । पार्टीको विवाद समधानका लागि तीन दिन भित्र प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको कार्यदलको बैठक समेत बस्न सकेको छैन ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले तोकेको समय सकिन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा कार्यादल गठन गरेर मतभेद अन्त्यको विन्दु खोज्ने सहमति भएको थियो ।
ओली–नेपाल वार्तापछि ओली पुनः प्रधानमन्त्री नियुक्त भए र एमाले विभाजन पनि रोकियो । तर, एमाले भित्रको मतभेद अन्त्य गर्ने विन्दु खोज्न गठित कार्यदल भने ‘बिजनेस विहीन’ बनेको छ । दुबै समूहका ५–५ जना सदस्य रहेको कार्यदललाई ठोस म्याण्डेट नभएका कारण बैठक समेत बस्न नसकेको हो । पार्टीलाई २ जेठ २०७५ पुर्याने गरी कार्यदलले काम गर्ने भनिएको छ ।
ओलीको अनिच्छामा अलमल
कार्यदल अलमलमा रहनुको कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अनिच्छालाई पनि मानिएको छ ।
सत्ता अरुको हातम जाने भएपछि माधव समूहलाई फकाउन सफल ओली जेठ २ मा फर्कने सवालमा अनिच्छुक रहेको बुझिन्छ । पार्टीलाई जेठ २ मा पुर्याउँदा त्यसयताका सबै घटानक्रमको जिम्मा लिनुपर्ने भएकाले ओलीले अनिच्छा व्यक्त गर्दै आएका हुन् । त्यसैले कार्यदल बने पनि आफ्ना पक्षका कार्यदल सदस्यलाई यसरी अघि बढ्नु भनेर ठोस निर्देशन दिएका छैनन् ।
माधव समूह शशंकीत
कार्यदलको बैठक समेत बस्न नसकेपछि माधव समूह शशंकीत भएको छ । पार्टी अध्यक्ष ओलीले सत्ता जोगाउन मात्र प्रयोग गरेको हुनसक्ने आशंकामा रहेको माधव समूहलाई कार्यदल प्यासिप हुँदा थप शंका गर्ने वातावरण बनेको छ ।
कार्यदलका एक सदस्य भन्छन– ‘विगतका व्यवहार हेर्दा अध्यक्षलाई विश्वास गर्ने वातावरण छैन । तर, पार्टी एकताको सवालमा हामीले ऐतिहासिक भूमिका निर्वाह गरेका छौं । हाम्रो भूमिकालाई सत्तारोहणको भर्याङ मात्र बनाइएको हो भने त्यो गलत हुनेछ ।’
जेठ २ गते ओली–नेपालबीच सिंहदरबारमा भएको ‘वान टु वान’ भेटवार्ताले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् । यस्तै माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।