Logo
Logo

एमाले कार्यदलको पहिलो बैठक विना निष्कर्ष टुंगियो

बैठक भोलि फेरि बस्ने


दृष्टि संवाददाता

8.6k
Shares

काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठक विना निष्कर्ष टुंगिएको छ । जेठ २ मा सर्वोच्च अदालतले फागुन २३ को फैसला अनुसार २०७५ जेठ २ को आसपासमा रहेर सहमति खोज्ने गरी बनाएको कार्यदलको पहिलो बैठक सामान्य छलफल गर्दै टुंगिएको हो ।

कार्यदलले कार्यक्षेत्र, कार्यविधि र नेताहरूको आचारसंहिता लागु गर्ने विषयमा समेत छलफल गरेको थियो । यस्तै, पार्टीभित्रको समस्यालाई समाधान गर्न पार्टीपंक्तिलाई एकत्रित हुन आह्वान गर्ने समेत निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवं माधव नेपाल समूहको तर्फका कार्यदल संयोजक भीम रावलले सामान्य विषयमा छलफल अघि बढेको र छिट्टै समस्या समाधान गर्नेतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ‘, रावलले भने । थप छलफलका लागि बैठक भोलि फेरि बस्नेछ ।

१० सदस्यीय कार्यदल बनेपनि मंगलबारको पहिलो बैठकमा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अनुपस्थित थिए । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन दिन भनिएको छ । तर कार्यदलले बैठक नै नबसी दुई दिन समय गुजारिसकेको छ । कार्यदलले दिने सुझावका आधारमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले समस्या सुल्झाउँदै अघि बढ्ने रणनीति लिएका छन् । आइतबार सिंहदरबारमा भएको भेटपछि ओली र नेपालले पार्टीको आन्तरिक समस्या समाधानका लागि १० सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य छन् ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्