काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या केही घटेपनि मृत्युदर भने बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ५२९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै बढी संक्रमितको मृत्यु भएको हो । उक्त अवधिमा २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।
भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेको थियो अघिल्लो साता दैनिक चार लाखसम्म संक्रमित भेटिएका थिए । तर, अहिले आएर संक्रमित दर भने घटेको छ ।
भारतमा हालसम्म कोरोनाबाट संक्रमितको हुनेको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा बढी ३३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरलामा नयाँ संक्रमितको संख्या कर्नाटकमा ३० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा धेरै छ । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३२ लाखभन्दा धेरै छ ।