काठमाडौं । भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढेकाले सन् २०२१ भित्र अन्य देशलाई खोप उपलब्ध गराउन नसकिने बताएका हुन् ।
‘यस वर्षको अन्त्यसम्ममा कोभ्याक्स लगायतको खोप निर्यात गर्न सकिने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ । सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले उपलब्ध गराएको १० लाख डोज खोपबाट खोप कार्यक्रम शुरू गरिएको थियो ।
पछि फागुन ९ नेपालले खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज भारतले पठाएकोमा बाँकी खोप भारतले हालसम्म पठाएको छैन । हालसम्म नेपालमा भारतले अनुदानमा दिएको १० लाख, खरीद गरेको १० लाख, भारतीय सेनाले सहयोगमार्फत उपलब्ध १ लाख, कोभ्याक्स सुविधाबाट प्राप्त ३ लाख ४८ हजारसहित २४ लाख ४८ हजार कोभिशिल्ड खोप आएकोमा २३ लाख ४८ हजारलाई लगाइएको छ, जसमध्ये ३ लाख ६९ हजार ४४९ लाई मात्र दोस्रो मात्राको खोप लगाइएको छ । २१ लाख १२ हजार १९ जनालाई दोस्रो मात्रा दिन बाँकी रहेको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।
भारतले खोप नदिने भएपछि खोपको दोस्रो मात्रा लगाउन बाँकी २१ लाखले तत्काल खोप नपाउने देखिएको छ । यद्यपि, सरकारले भने खोप आयातका लागि कूटनीतिक पहल गरिरहेको बताएको छ । सरकारले चीन, रसिया र अमेरिकासँग खोप खरीदका लागि पहल गरिरहेको गौतमको भनाइ छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले खोप आयातका लागि भारतसँग कूटनीतिक पहल भइरहेको जानकारी दिए ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।