वीरगञ्ज । दोस्रो चरणको कोरोना संक्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच ओटा बुलेट नेपाल भित्र्याएका छन् ।
काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् ।उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ ।
उद्योगसँग दुई ओटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार ओटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू, दोस्रोमा ४ हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।
एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरीद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए। कोरोना संक्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।