काठमाडौं । एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ । दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए ।
उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन् । एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ ।
दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ । त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।
‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ । गाउँमा निषेधाज्ञा राम्रोसित पालना नभएकाले त्यहाँको संक्रमण दर बढ्दो क्रममा रहेको मन्त्रालयको दाबी छ ।
प्रवक्ता गौतमका अनुसार हालै गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत मानिस निषेधाज्ञाको बेवास्ता गर्दै अहिले पनि हि“डडुल गरिरहेको पाइएको छ । कोरोना संक्रमण हि“डडुल र भेटघाटकै क्रममा सर्ने भएकाले अन्य प्रदेशमा पनि क्रमशः बढ्दै गएको हो ।
गाडी रिजर्भ गरेर या अन्य तरिकाले गाउँ पुगेकाहरूलाई यसपटक १० दिन अनिवार्य क्वारेन्टिन राख्ने कार्यमा कमी आएकाले जोखिम त्यतातिर बढेको प्रवक्ता अधिकारीको दाबी छ । ‘विभिन्न तरिकाले गाउँ पुगेकालाई यसपालि स्थानीय निकायले अनिवार्य क्वारेन्टिनमा राखेन, त्यसकारण संक्रमण गाउँतिर फैलिएको हो,’ उनले भने । काठमाडौं उपत्यकामा निषेधाज्ञापछि परिवारभित्रै सावधानी अपनाउन नसक्दा एकबाट अर्को हुँदै सबै परिवारमा फैलि“दै गएको डा। अधिकारीको भनाइ छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।