Logo
Logo

जनमोर्चा सांसद कृष्ण थापा साधारण सदस्यबाटै निष्कासित


दृष्टि संवाददाता

5.7k
Shares

कास्की । गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । पार्टीको बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

‘हामीले उहाँलाई पार्टीको सबै जिम्मेवारीबाट हटाएका छौं’, उनले भने, ‘यसभन्दा पहिला पनि कारबाही गर्दै दलको नेताबाट हटाएका छौं ।’ उनले सांसद पदबाट पनि कारबाही गर्न पहल भइरहेको बताए ।

पार्टीमा आँच आउने गरी काम गरेको र पार्टी निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको भट्टको भनाइ छ । पार्टीले ह्रवीप जारी गर्दासमेत थापाले उल्लंघन गर्दै आएको उनले बताए ।

विपक्षी गठबन्धनले गण्डकी प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा राजमोको साथ थियो । अविश्वासको प्रस्तावमाथि मतदान गर्ने पार्टीले निर्णय गरेको थियो ।

अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्रवान गरेकी थिइन् ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार गठनको लागि बहुमत (३१ सदस्यको) को हस्ताक्षर चाहिन्छ । गण्डकीमा कांग्रेसका १५, एमालेका २८, माओवादी केन्द्रका १२ (सभामुखसहित) राजमोका ३ र जसपाका २ सदस्य छन् ।

सरकार गठनको लागि निर्णयक भूमिकामा रहेको राजमोका थापाले एमाले पार्टीलाई सहयोग गरेका थिए । उनले मुख्यमन्त्रीमा गुरुङ नै हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्