काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन् । केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा। सागर राजभण्डारीका अनुसार दुई दिनयता उपत्यकानजिकका धादिङ, काभे्र, नुवाकोटलगायत जिल्लाबाट कडा लक्षणसहितका संक्रमित उपचार गराउन आइरहेका छन् । उनले उपत्यकाबाहिरका गाउँबाट आइतबार अस्पतालमा १६ जना संक्रमित आएको जानकारी दिए ।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा पनि उपत्यकाबाहिरका ग्रामीण क्षेत्रबाट संक्रमित आउन थालेका छन् । दुई सातादेखि गाउँबाट बिरामी आउने क्रम सुरु भएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ पल्मोनरी तथा छातीरोग विशेषज्ञ डा। निरज बमले बताए ।
अस्पतालमा नुवाकोट, रसुवा, काभे्र, सिन्धुपाल्चोकका गाउँबाट गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन् । समयमै उपचार नपाएका कारण कतिपय बिरामीको आउँदाआउँदै मृत्यु हुने गरेको डा. बमले बताए । ग्रामीण भेकबाट आउने धेरैजसोमा श्वासप्रश्वासको समस्या देखिएको छ । डा. बमको अनुभवमा पछिल्ला दिनमा मृत्युदर पनि सहरको तुलनामा गाउँमा बढी छ । ‘कतिको उपचारमा आउनुअघि नै मृत्यु भइसकेको हुन्छ’, उनले भने ।
डा. बमका अनुसार गाउँमा कोरोना संक्रमितले हेरचाह नपाउने र राजधानीमा आइसकेपछि पनि भनेकै बेला आइसियु र भेन्टिलेटर नपाउँदा मृत्युसम्म हुने गरेको छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।