Logo
Logo

लुम्बिनीका चार मन्त्रीले राष्ट्रियसभा उपचुनावमा भोट हाल्न नपाउने


दृष्टि संवाददाता

25k
Shares

बुटवल । जनता समाजवादी पाटीका चार प्रदेशसभा सदस्यले लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।

एक पदका लागि जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नराख्दा मतदान गर्नबाट वञ्चित भएका हुन् ।

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरीम आदेश जारी गरेपनि आियोगको नामावलीमा उनीहरूको नाम छैन । सर्वोच्चले ३ जेठमा उनीहरूलाई कारबाही गर्ने निर्णय १६ जेठसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन् । तर, प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो ।

लुम्बिनीमा २ सय ९६ मतदाता छन्। जसमा प्रदेशसभा सदस्य ७९ र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्ने छन् । राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो ।

उपनिर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा मतदानस्थल तोकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्