Logo
Logo

२ अर्बको नागरिक बचतपत्र विक्री खुला, ब्याजदर ९ प्रतिशत


दृष्टि संवाददाता

5.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको पाँचवर्षे नागरिक बचतपत्र विक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले जेठ ११ गतेदेखि असार १ गतेसम्मका लागि नागरिक बचतपत्र २०८३ विक्री खुला गरेको हो ।

गत आर्थिक वर्ष जेठ १ गतेदेखि २१ गतेसम्म ४ अर्ब बराबरको पाँचवर्षे नागरिक बचतपत्र विक्री खुला गरेको थियो । तर, कोभिड–१९ तथा बन्दाबन्दीको प्रभावका कारण आव्हान् गरेको रकम खरीदकर्ता नआएपछि १ महीना समय थपेको थियो ।

बचतपत्रमा केन्द्रीय बैंकले राम्रै ब्याजदर कायम गरेको छ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम साढे ८ प्रतिशतको हाराहारीमा मात्रै ब्याजदर कायम गरेका छन् । राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र विक्री खुलाएकाले तोकिएको अवधिभित्रै विक्री हुने अनुमानसमेत गरेको छ ।

बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ भने ब्याज भुक्तानी ६–६ महीनामा हुनेछ । नेपाली नागरिकले यस्तो बचतपत्र खरीद गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू त्था वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।

सर्वसाधारणले कम्तीमा रू। १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । यसभन्दा बढी लिन चाहनेले कुल रकमको सीमामा नबढाई रू. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ ।

राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार विशेष गरेर यस्तो बचतपत्रमा सरकारी कर्मचारी, शिक्षकलगायतको आकर्षण रहने गरेको छ । सर्वसाधारणले स्टक वा प्रमिशरी नोटका रूपमा बचतपत्र लिन सक्नेछन् । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ । नखुलाएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले बताएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्