Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ७ हजार कोरोना संक्रमित निकोदेखि काठमाडौमा निषेधाज्ञा थपिएकोसम्म


दृष्टि संवाददाता

1.6k
Shares

हेडलाइन्स् :

१. २४ घण्टामा देशभर ८ हजार ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि, योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगे, ६ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुग्यो, कोरोनाबाट १ सय ६९ कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा २ हजार ६ सय ७३ संक्रमित थपिए, नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुग्यो, हालसम्म देशभर ९ सय १४ संक्रमित क्वारेन्टिनमा ।

२. कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बियो, मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय, थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइने, तर किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय ।

३. केपी ओली नेतृत्वको सरकारलाई कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट हटाउँदै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको भनाइ, नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिस्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको आरोप, आफूसहित ११ जना नेतालाई गरिएको कारबाही पनि औचित्यहिन र अनाधिकारिक भएको नेपालको तर्क ।

४. प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल, बिपक्षी गठबन्धनले रिट दायरपछिको अवस्थामा कसले मुद्दा लड्ने पनि निधो, कानुनविद्हरु समेत उपस्थित भएको बैठकमा प्रतिनिधिसभा बिघटनको बिरुद्धमा अदालतमा हुने सुनुवाइका बिषयमा कुराकानी भएको नेताहरूको भनाइ ।

५. संसद विघटन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सभामुख अग्नि प्रसाद सापकोटाद्वारा पूर्वसभामुखसँग छलफल, छलफल पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्तीमात्र सहभागी, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद भंग गरेर इतिहासकै ठूलो अपराध पूर्ण काम गरेको निष्कर्ष,संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी ।

६. प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको सर्वोच्च अदालतमा जेठ १३ बिहीबार र जेठ १४ गते शुक्रबार प्रारम्भिक सुनुवाइ हुने , संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग भएका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुने, संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता , अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको १३ गते तथा संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते हुने ।

७. सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक स्थगित, एमाले स्थायी समितिको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बसेको बैठकमा माधव पक्षबीच नै मतभेद भएपछि मंगलबार बस्ने भनिएको दलका बैठक स्थगित, बुधबार बिहान साढे ८ बजे दलको बैठक बोलाइयो, ओली पक्षीय सांसदलाई पनि गराइयो जानकारी ।

८. आर्थिक सर्वेक्षण आगामी शुक्रबार सार्वजनिक हुने, बजेट टिम राती १० बजेसम्म मन्त्रालयमै , पहिलो चरण आठ जिल्लामा २० एमबीपिएस गतिको इन्टरनेट दिदै सरकार, दुई बर्षसम्म निःशुल्क, शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत,निषेधाज्ञा लागेयता २३ अर्ब रुपैयाँले बढ्यो बैंक ऋण, १० महिनामा ७ खर्ब १३ अर्ब ऋण बिस्तार ।

९. इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टिम इराक प्रस्थान, प्रशिक्षक अलमुताईरीद्वारा नेपाली टिममा ठुलो परिवर्तन , नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्ने, राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने, पाकिस्तानले अफगानिस्तानसँग एकदिवसीय क्रिकेट सिरिज खेल्ने ।

१०.र, भारतमा अप्रिल १४ पछि पहिलो पटक २ लाखभन्दा कमलाई कोरोना संक्रमण, भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला, मालीका प्रधानमन्त्री र राष्ट्रपति सेनाको नियन्त्रणमा, एकै वर्षमा दोस्रोपटक सैन्य कू, सञ्चारकर्मी गिरफ्तार गरेसँगै बेलारुसमाथि युरोपियन युनियनको प्रतिबन्ध, कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई मासिक तलब दिने टाटा स्टीलको निर्णय ।

India national delhi state lockdown due to coronavirus crisis covid-19 disease. India under lockdown with delhi map Concept of India national lockdown due to coronavirus crisis covid-19 disease.

प्रतिक्रिया दिनुहोस्