मनाङ । हिमाली जिल्ला मनाङमा बाढीले पुल बगाएको छ । बेंसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका– १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो ।
भीषण वर्षासँगै आएको बाढीले पुल बगाउँदा सडक अवरुद्ध भएको छ । मनाङबाट लमजुङ आउँदै गरेको र लमजुङबाट मनाङ जाँदै गरेका अत्यावश्यक सवारीसाधन अलपत्र परेका छन् । काठेपुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको छ ।
तिमाङखोलाको काठेपुल गत वर्षको बाढीले पनि बगाएको थियो । पुल गत वर्ष चामे गाउँपालिका, प्रशासन र सुरक्षा निकायको समन्वयमा निर्माण गरिएको मनाङका डिएसपी सुवास खड्काले बताए ।