Logo
Logo

जसपा सरकारमा जाँदै, राजेन्द्र महतो उपप्रधानमन्त्री


दृष्टि संवाददाता

55.9k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर समूह उपप्रधानमन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच भएको सहमतिअनुसार राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित उद्योगमन्त्री, शरतसिंह भण्डारी ऊर्जामन्त्री, अनिलकुमार झा शहरी विकासमन्त्री, विमल श्रीवास्तव खानेपानीमन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुदमन्त्रीको रुपमा सरकारमा सहभागी हुने भएका छन् ।

त्यसैगरी लक्ष्मणलाल कर्ण र राजकिशोर यादव पनि सरकारमा जाने बताइएको छ । तर, उनीहरुको मन्त्रालय टुङ्गो लाग्न बाँकी छ ।

ओली र ठाकुरबीच भएको सहमतिअनुसार जसपाले दुई राज्यमन्त्री समेत पाउनेछन् । तर, राज्यमन्त्रीको नाम टुङ्गो लाग्न बाँकी रहेको छ । मन्त्रिपरिषद विस्तारसँगै आजै सपथ कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि ओली–ठाकुर सहकार्य सुरु भएको हो । ओलीले विश्वासको मत माग्दा जसपाको ठाकुर टथस्त बसेको थियो । तर, अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने विश्वासको मतको विपक्षमा मतदान गरेका थियो । सोही दिनबाट जसपाको दुई पक्ष सतहमा देखिएको थियो । त्यसयताका हरेक गतिविधिमा ठाकुर समूह ओली र यादव समूह ओली इतर पक्षमा रहँदै आएको छ ।

पछिल्लो समय यादव समूहको बहुमत कार्यकारिणी सदस्यले सरकारमा सहभागी हुने वित्तिकै स्वतः कारवाही हुने निर्णय गरेको थियो । त्यस लगत्तै यादव समूहले ठाकुरसहित चार नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको थियो । तर, उक्त पत्र आयोगले अस्वीकार गरेको छ । ठाकुर समूहले यादवलाई कारवाही गरेको पत्र पनि निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्