काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारणसभाले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा जुममार्फत बसेको साधारणसभाले प्रस्ताव पारित गरेको हो ।
विशेष साधारणसभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रको अनुमोदन गरेको जनाइएको छ । सिर्जना फाइनान्सलाई प्राप्ति गर्दा १ सय कित्ताबराबर ९५ कित्ताको स्वाप रेसियो कायम गरिएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको बिहीबार नै बसेको विशेष साधारणसभाले पनि प्राप्तिका लागि स्वीकृति दिएको जनाइएको छ । दुवै बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको बैंकले जनाएको छ । यसै आवभित्र सिर्जना फाइनान्सलाई प्राप्ति गरी संयुक्त कारोबार सुरु गर्ने बैंकका अध्यक्ष भण्डारीले बताए । प्राप्तिपश्चात् बैंकको वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने अध्यक्ष भण्डारीको भनाइ थियो ।
०७८ साल जेठ २६ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ । त्यस्तै, सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुने जनाइएको छ । प्राप्तिपश्चात् बैंकको कुल शाखा १ सय ८९ हुने जनाइएको छ ।