Logo
Logo

‘महामारीपछि अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो’


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने बताएको छ ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०९ औं बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट शुक्रवार सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गरेका छन् ।

सो अवसरमा उनले नेपालमा कोरोना संक्रमण फैलिन नदिन सरकारले देशव्यापी रूपमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा आर्थिक गतिविधि ठप्प हुन गई ठूलो नोक्सानी बेहोर्नुपरेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित भएको पनि बताए ।

कोरोनाका कारण मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल गार्हस्थ्य उत्पादन घट्न गएको, लाखौंको रोजगारी गुमेको र गरिबीको मात्रा बढेको भन्दै उनले महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महसुस गरी सरकारसँग सहकार्य गर्दै आएको जानकारी दिए ।

सभापति सङ्घईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सबलीकरण गर्ने काम गरिरहेको उल्लेख गरे ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्