हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा उनले माफी मागेका हुन् ।
बैठकमा बोल्दै उनले शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शब्दहरु प्रस्तुत भएको भन्दै माफी मागेका छन् ।
शुक्रबार बैठकमा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले ‘देश खान लागेको र कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने’ जस्ता आपतिजनक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । उनकोे अभिव्यक्तिको काँग्रेसले समेत ध्यानाकर्षण जनाउँदै अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।
तर, उनले शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको र आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भएपनि आवेशमा यस्तो अभिव्यक्ति दिएको दिएको बताउँदै आफ्नो अभिव्यक्ति फिर्ता लिएको जनाएका छन् ।
यसैबीच उनले शनिबार नै प्रेस विज्ञति समेत जारी गर्दै माफी मागेका छन् । उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।