Logo
Logo

निषेधाज्ञा थपिने तर मोडालिटी परिवर्तन हुने


दृष्टि संवाददाता

4.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्बिइने तर, कति साताको लागि लम्बिइने त्यसको बारे कुनै निर्णय नभएको बताउनुभएको छ ।

जिल्ला अधिकारी निरौलाले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘निषेधाज्ञा कति लम्ब्याउने भन्ने कुरा आएको छैन । धेरै मिडियाका साथीहरुले यस विषयमा जिज्ञासा राख्नुभएको छ तर, निषेधाज्ञा एक साता, १० दिन वा १५ दिन कति समयको लागि लम्ब्याउने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’

तर अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने उहाँले बताउनुभयो । साथै यस विषयमा अन्य जिल्ला अधिकारीहरुसँग छलफल हुन बाँकी रहेको उहाँले भन्नुभयो ।

‘अहिले बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब केही सयम थप गरेर खोल्न दिइनेछ,’ उहाँले भन्नुभयो ।
कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहर नियन्त्रण र रोकथामका लागि उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको थियो ।

यता गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको कस्तो मोडालिटी बनाउने भन्ने विषयमा विभिन्न तर्कहरु आइरहेको बताउनुभएको छ । ‘मुख्य कुरा कोरोना महामारी अझै नियन्त्रणमा आइसकेको छैन । सङ्क्रमण दर घट्दै गए पनि जोखिम कायम नै छ,’ उहाँले भन्नुभयो, ‘त्यसले गर्दा अहिले नै यसै गर्ने भन्दा पनि यसलाई सर्वपक्षीय उद्योग, पर्यटन, आर्थिकलगायत विभिन्न क्षेत्रलाई समेटेर यस विषयमा छलफल गरिरहेका छौं ।’

साथै उहाँले अब थपिने निषेधाज्ञाका विषयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र डीसीसीएमसीसँग छलफलमै रहेको बताउनुभयो । ‘डीसीसीएमसीले के भन्छ रु त्यो समेतको विषयमा हामी निरन्तर छलफलमा छौं । थप हुने निषेधाज्ञाबारे आज साँझ वा भोलिसम्म निर्णय लिन्छौं,’ उहाँले भन्नुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्