पोखरा । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन चालेको कदम गण्डकी प्रदेशमा पनि दोहोरिने हो कि भन्ने आशंका भइरहेका बेला प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार अपराह्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली) लाई मुख्यमन्त्री नियुक्त गरेकी छन् । पोखरेल नवलपरासी पूर्व (नवलपुर) क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) बमोजिम बहुमत पुर्याउन सक्ने प्रदेशसभा सदस्यलाई शनिबार अपराह्न ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार आह्वान गरेकी थिइन् । तोकिएको समयभित्र पोखरेलको मात्र दाबी पेस भएकाले उनलाई प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाका सांसदले पोखरेललाई मुख्यमन्त्री बनाउन शुक्रबार प्रदेश प्रमुखसमक्ष प्रस्ताव गरेका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्न ६० सदस्यीय प्रदेशसभाका ३१ सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।
उनीहरूले चलखेल हुनसक्ने आशंका प्रदेश प्रमुखलाई हस्ताक्षर सनाखत गर्न लगाएर त्यसको एकप्रति ल्याएका थिए । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग दाबी गर्दै प्रदेश प्रमुखलाई बुझाएको पत्रमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, जनमोर्चाका २ र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका थिए ।
पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुनुअघि पृथ्वी सुब्बा गुरुङले पनि सो पदका लागि दाबी पेस गरेको हल्ला दिनभर चलाइयो । गण्डकी प्रदेश एमाले संसदीय दलका नेता गुरुङ दुई दिनअघि मुख्यमन्त्रीमा विश्वासको मत लिन असफल भएका थिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।