काठमाडौं । झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई दबाब दिएपछि नागरिक समाजसमेत चिन्तित बनेको छ । महामारीको यो वेला देशका सार्वजनिक स्वास्थ्य संस्थाहरूमा सुधार गर्नुपर्ने सयौँ मुद्दा छन्, तर देशका प्रधानमन्त्री एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने विषयलाई उच्च प्राथमिकता दिएर नियमनकारी निकायमाथि हस्तक्षेप बढाइरहेका छन् ।
व्यापारी दुर्गा प्रसाईंको सो कलेजलाई मान्यता दिलाउन प्रधानमन्त्रीले गत शुक्रबार पनि बालुवाटारमा बैठक बोलाएका थिए । तर, कलेजले चार वर्षदेखि आशयपत्र नवीकरण नगरेको, पूर्वाधार तथा शिक्षण समूहबारे अध्ययन नभएको र बिएन्डसीकै विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल सम्बन्धन दिन गाह्रो हुने तर्क उपाध्यक्ष डा। गिरीले राखेका थिए । तर, प्रधानमन्त्रीले सम्बन्धन दिने विषयमा सैद्धान्तिक सहमति दिने र आवश्यक प्रबन्धहरू पछि गर्दै जाने गरी निर्णय गर्ने भन्दै शुक्रबारको बैठक टुंग्याएका थिए ।
आइतबार बिहान फेरि फोन आएपछि उपाध्यक्ष डा। गिरी बालुवाटार गएका थिए । ‘आइतबार आयोगको एउटा बैठक थियो, तर उहाँले बालुवाटारबाट बोलावट भएकाले आउन नसक्ने भन्दै एसएमएस पठाउनुभयो,’ आयोगका एक अधिकारीले भने ।
मेडिकल कलेजहरूको नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको अध्यक्षमा प्रधानमन्त्री र सहअध्यक्ष शिक्षामन्त्री भए पनि कार्यकारी प्रमुख भने उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्ष र सदस्यहरूले निर्णय नगरेसम्म प्रधानमन्त्री र शिक्षामन्त्रीले सम्बन्धनको विषयमा निर्णय गर्न सक्दैनन् ।
तर डा। गिरीले प्रधानमन्त्रीसँगको बैठक निकै तनावपूर्ण रहेको जानकारी आयोगकै अन्य सदस्यहरूलाई दिएका छन् । ‘म जाँदा शिक्षामन्त्री पहिले नै पुग्नुभएको रहेछ । स्वयं प्रधानमन्त्रीले अस्तिको निर्णयअनुसार बिएन्डसीलाई सम्बन्धन दिने माइन्युट लेख्न निर्देशन दिनुभयो । तर, अस्ति त प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुभएको हो ।आयोगले त निर्णय गरेको छैन ।
त्यसैले माइन्युट कसरी लेख्ने भनेर आफ्नो भनाइ राखेँ । त्यसपछि उहाँहरू जंगिनुभयो, मेरो राजीनामा माग्नुभयो । मलाई धम्क्याउनुभयो,’ डा. गिरीको यो भनाइ आयोगका सदस्यहरू हुँदै नागरिक आन्दोलनसम्म पुगेको थियो । लगत्तै डा। गिरीको पक्षमा बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी एलाइन्सले विज्ञप्ति जारी गरेका थिए ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।