Logo
Logo
स्वास्थ्य संकट

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका, जनस्वास्थ्य विज्ञले गराए सचेत


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको हो ।

हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको सरकारी तथ्यांक छ । कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् ।

केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । मन्त्रालयले अबको जोखिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रह पनि गरेको छ ।

स्वीकृत शय्याको २० प्रतिशत १० संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी छुट्याउन आग्रह गरिएको स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल कोरोना उच्च जोखिममा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन, यसकारण अभिभावकलाई संक्रमण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’

यस्तै सोमबार देशभर २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा यस्तो संख्या देखिएको हो । यसअघि, आइतबार २ हजार ४ सय ७ जनामा कोरोना देखिएको थियो । पछिल्लो २४ घण्टामा देशभर ५३ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतक संख्या ८ हजार ४ सय ६५ पुगेको छ । २४ घण्टामा देशभर ५ हजार १ सय ४७ संक्रमित निको भएका छन् । संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ५ लाख ३६ हजार २ सय ५२ संक्रमित निको भइसकेका छन् । हाल, देशभरका अस्पतालमा ९ सय ९५ आईसीयू र ३ सय २४ जना संक्रमित भेन्टिलेटरमा छन् । जसअन्तर्गत् प्रदेश १ मा १ सय ६३ आईसीयू र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४७ आईसीयू र १० जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ५ सय ७४ आईसीयू र २ सय ५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८४ आईसीयू र १८ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८० आईसीयू र १५ भेन्टिलेटर, कर्णालीमा १९ आईसीयू र ९ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २८ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्