काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गर्दै त्यससम्बन्धी फाइल मन्त्रिपरिषद् लगेको स्रोतले जनाएको छ । मन्त्रालयको फाइल सिलबन्दी गरी १० स्थानमा लाहाछाप लगाएर स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमण सिंहले मन्त्रिपरिषद् लगेका हुन् ।
शुक्रबार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि आइतबार दिनभर स्वास्थ्य अधिकारीहरू आन्तरिक छलफलमा जुटेका थिए । आइतबार साँझ स्वास्थ्य सेवा विभागमा उच्च अधिकारीहरूबीच भएको छलफलमा तत्काल २० प्रतिशत नागरिकलाई खोप आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो ।
सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ । अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी छ । चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसभन्दा अगाडि आठ लाख डोज खोप दिएको थियो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप खरिदको संख्या टुंगो लागे पनि त्यसको मूल्यका बारेमा खुलाइएको छैन । चीन सरकारले पटकपटकको वार्तामा खोप दिने, तर मूल्यका विषयमा सार्वजनिक गर्न नपाइने प्रस्ताव राखेको थियो । ‘मूल्य नखुलाउने प्रस्तावले खोप खरिदको निर्णय गर्न करिब १५ दिन ढिला भएको हो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । चीनले भेरोसेल खोप प्रतिडोज १७ डलर तोकेको छ । तर, त्योभन्दा सस्तोमा नेपाललाई उपलब्ध गराउने भएकाले मूल्य उल्लेख नगर्न भनेको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिमा छ ।