Logo
Logo

रोपाइँको मुखमा मल हाहाकार


दृष्टि संवाददाता

252
Shares


कञ्चनपुरको महाकालीपारि दोधारा चाँदनी क्षेत्रबाट मल ल्याउँदै गरेका महिला ।

धनगढी । सामाजिक सञ्जाल फेसबुकमा शनिबार एउटा तस्बिर निकै भाइरल बन्यो । कञ्चनपुरको दोधारा चाँदनीबाट महिलाहरूले टाउकोमा राखेर सानो परिमाणमा ल्याउँदै गरेको मल बरामद गरेपछि धेरैले प्रहरीको बहादुरी भन्दै उक्त तस्बिर पोस्ट गरे । कतिपयले स्वदेशमै मल आपूर्ति गर्न नसक्ने र भारतबाट अवैध रूपमा भित्रिएको मल पनि ल्याउन नदिने भन्दै आक्रोशसमेत पोखे ।

मनसुनको सुरुवातसँंगै पश्चिम तराईका किसान रोपाइँको तयारीमा छन् । बीउदेखि खेत सबै तयार गरे पनि रासायनिक मल अभावले उनीहरू चिन्तित छन् । नेपालमै सहज तरिकाले मल नपाइने र निषेधाज्ञा र नाका बन्द भएका कारण भारतबाट पनि ल्याउन नसकेका कारण किसान चिन्तित बनेका हुन् । भारतबाट अवैध रूपमा दोधारा चाँदनीसम्म पुगेको मलसमेत प्रहरीले ल्याउन नदिएपछि झनै समस्या भएको छ ।

धान रोप्नुअघि प्रयोग गर्ने डीएपी मल भने किसानले पाउन सकेका छैनन् । यो वर्ष मनसुन छिटो भएकाले रोपाइँ पनि सुरु भइसकेको कैलालीको गदरियाका परशु चौधरीले बताए । ‘धान रोप्नुअघि डीएपी मल छर्न पाएनौं,’ उनले भने, ‘पानी पर्ने बेला धान रोप्नुपर्ने भएकाले मल बिना रोपाइँ भयो ।’ घोडाघोडी निम्दीका कमल बमले मलबिना धान रोप्नुपर्ने अवस्था आएको बताए । ‘स्थानीय सहकारीमा मलका लागि दिनदिनै धाउनुपरेको छ,’ उनले भने, ‘सहकारी सस्थामा थोरै मल आइपुग्छ हारालुछ भएर एकैछिनमा सकिन्छ ।’

मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडका प्रदेश कार्यालय प्रमुख नवलसिंह बोगटीले निषेधाज्ञामा बैंकहरू बन्द भएकाले गोदाममा भएको मल पनि सहकारी संस्थालाई दिन नसकिएको जानकारी दिए । ‘एक साता भयो, स्थानीय प्रशासनले दिनमा दुई घण्टा मात्र बैंक खोल्ने अनुमति दिएको छ,’ उनले भने, ‘बैंक खुलेपछि हामीले पनि सहकारीलाई मल लिन बोलाएका छौं, कसले पायो, कसले पाएन थाहा छैन । मल वितरण जारी छ ।’

मागअनुसारको मल एकैपटक नआउने भएकाले पनि किसानलाई मलको अभाव खट्किने गरेको उनले बताए । भारतबाट चोरीको अवैध मल पनि अहिले किसानले महँगोमा किन्नुपरेको हसुलियाका वीरभान चौधरीको भनाइ छ । सीमा सुरक्षामा रहेका नेपाली र भारतीय सुरक्षाकर्मीले तस्करबाट बढी पैसा असुल्दा किसानलाई त्यसको भार परेको उनी बताउँछन् ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्