झापा । ‘कोरोनाले मृत्युवरण गरेका सङ्क्रमितको शवलाई पहिलोपटक छुँदा हात लुगलुग कामे जस्तो लाग्यो । स्यानिटाइजर छर्किदा मुटु ढुकढुक भयो । मन दरो बनाएर सोचेँ–म स्काउटको सदस्य हुँ, मैले अहिले शव व्यवस्थापन गर्न जिम्मेवारी पाएकी छु । म भित्रको आत्मविश्वास छिटै बलियो भएर आयो । अनि फटाफट सामान्य काम सरह शवको सहज व्यवस्थापनमा जुटेँ ।ड
यी भनाइ हुन्– जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका सङ्क्रमित शव व्यवस्थापनमा जुटिरहेका भद्रपुर नगरपालिका–६ का शिवानी देवानको । नेपाल स्काउटका सहायक प्रशिक्षक उनले नेपाली सेनाबाट शव व्यवस्थापनसम्बन्धी हालै तालिम लिएका हुन् ।
तालिम पश्चात नौ वटा शवको आफैँले व्यवस्थापन (जलाउने र गाड्ने) गरिसकेको उनले बताए । जिल्लामा गत वर्षदेखि नै सेनाको विशेष टोलीले शव व्यवस्थापनको काम गर्दै आएको थियो । कोरोना महामारीको दोस्रो लहर चलिरहँदा सेनाको एउटा टोली एकै दिनमा अलग अलग स्थानमा धेरै शवको व्यवस्थापनमा जुटिरहँदा प्रदेश स्काउटले सहकार्यका लागि प्रस्ताव गर्यो । सेनाले साहसिक कार्यमा जहिल्यै अग्रसर हुने स्काउटका छानिएको टोलीलाई शव व्यवस्थापनसम्बन्धी विस्तृत तालिम दियो । हाल जिल्लामा १७ जना स्काउटले यो तालिम लिएर काम गरिरहेका छन् ।
शव व्यवस्थापनको एउटा टोलीमा चार जना हुन्छन् । तालिमप्राप्त स्काउटका सदस्यलाई हाल चन्द्रगढीथित स्काउटको कार्यालयमा क्वारेन्टाइनमा राखिएको छ । स्थानीय पालिकाले कोरोनाबाट मृत्यु भएको खबर दिएपछि उनीहरु शव व्यवस्थापनका लागि अस्पताल, घर र घाट सबैतिर पुग्ने गर्छन् ।
‘मेची अस्पतालमा कोरोनाबाट कसैको मृत्यु भयो भने हामी त्यहीँ पुग्छौं र शवलाई प्लास्टिकले बेरेर शबबाहनमा राखिदिन्छौँ,’ शिवानीले भने, ‘घरमा मृत्यु भएको रहेछ भने घरमै पुग्नुपर्छ । शवलाई जलाउने बेलामा घाटमा पुगेर गाडीबाट शव उतार्ने, स्यानिटाइजर छर्किने र चितामा राख्ने काम हामी आफैँले गर्छौं ।’
गत जेठ ९ देखि १२ गतेसम्म सेनाले दिएको शव व्यवस्थापनसम्बन्धी तालिममा शवलाई कसरी प्लास्टिकले बेर्ने, स्यानिटाइनर कसरी लगाउने, गाड्दा वा जलाउँदा कसरी व्यवस्थापन गर्ने र यी काम गरिरहँदा सङ्क्रमणबाट कसरी आफु सुरक्षित रहने भन्ने सिकेको उनले जानकारी दिए ।
प्रदेश स्काउटले नै शव व्यवस्थापनमा खटिएको स्काउट टोलीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक पिपिई, फेसमास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराइरहेको छ । शिवानीले विश्व महामारीका बेला देशलाई सङ्कट पर्दा आफूले स्यम्सेवा गर्न पाएकोमा गौरव अनुभूति भइरहेको बताए ।
उनलाई परिवारबाट यो काममा प्रोत्साहन रहेको छ । उनकी आमा रुक्मिनी देवान ललितपुर नर्सिङ क्याम्पसमा शिक्षिका छन् । ‘स्काउटबाट यो कामको प्रस्ताव आएपछि मैले गर्छु भनिहालेँ । पछि आमाबुवालाई सोध्दा हौसला दिनुभयो । राम्रो काम हो छोरी गर भन्नुभयो,’ उनले आफूलाई परिवारको दर्विलो साथ रहेको सुनाउँदै भने, ‘यसअघि मान्छे मर्दा मलामीसम्म गएकी थिएँ, तर लाशको छेउछाउ जाँदिनथे । अहिले त लाश बोक्ने, चितामा राख्ने जस्ता सबै काम गर्दा कुनै डर लागेको छैन ।’
नेपाली समाजमा पुरुषले मात्र शव व्यवस्थापनको काम गर्दै आएको पाइन्छ । लाश बोक्ने र जलाउने काममा पुरुष नै अग्रसर हुने गर्छन् । मलामीका लागि पानी र खाजा बोक्ने काममा मात्र महिला खटिने गर्छन् । तर अब महिलाले पनि जस्तोसुकै जोखिमका काम गर्न सक्छन् भनेर शिवानी र उनका साथीले सावित गरेका छन् ।
सत्र जनाको स्काउट टोलीमा शिवानी र पूजा कँडेल मात्र महिला स्वयम्सेवी छन् । शव व्यवस्थापनको जटिल र जोखिमपूर्ण कार्यमा स्वयम्सेवाको भावनाले होमिएको उनले बताए ।
सेनाको चारआलीस्थित नयाँ श्रीनाथ गणका गणपति अम्बरजङ्ग थापाले स्काउटको टोलीले सेनासँगको सहकार्यमा शव व्यवस्थापन सफलतापूर्वक गरिरहेको भन्दै प्रशंसा गरे ।