काठमाडौं । नेपालको इतिहासमा विदेशी हस्तक्षेप र चलखेल अहिलेसम्मकै सबैभन्दा खतरनाक तवरले भइरहेको छ । सामरिक रुपमा संवेदनशील रहेको नेपालको भूराजनीतिक अवस्थितिले विदेशी चासो स्वभाविक छ । तर, हदैसम्मको हस्तक्षेप र चलखेल देशको अखण्डता र सार्वभौमसत्ताकै लागि खतरा हो ।
जुन खतरा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देखिइरहेको छ । सत्ताका लागि वाह्य शक्तिलाई भित्र–भित्र ठाउँ दिने र विभिन्न सम्झौता गर्ने तर, बाहिर बाहिर राष्ट्रवादीको मुखुण्डो ओढ्ने प्रवृत्ति ओलीमा देखिएको छ । यसले देशलाई ठूलो दुर्घटनामा लगिरहेको छ । बेलैमा सचेत नभए दुर्घटनाको परिणाम देशका लागि घातक हुन्छ ।
ओलीले २०७२ सालमा संविधान निर्माणपछि भारतीय नाकाबन्दीको खुलेआम विरोध गरेका थिए । त्यही विरोध र अडानले उनले २०७४ सालको चुनावमा ठूलो सफलता हासिल गरे । दुई तिहाईको ओली सरकार बन्यो । उनले पहिलोपटक प्रधानमन्त्री बन्दा चीनसँग पारवहन सन्धीलगायत सम्बन्ध विस्तारका महत्वपूर्ण काम गरे । भारतसँगको परनिर्भरता घटाएर दुवै छिमेकीसँग समदूरीको सम्बन्ध विकासको जग हाल्दै जान खोजे ।
उनले अमेरिका र यूरोपतिर पनि सम्बन्ध विकासमा सक्रियता बढाए । बलियो सरकार भएको बेलामा बाह्य शक्तिसँग मजबुत सम्बन्ध स्थापित गर्न थाले । वाह्य जगत्मा पनि ओलीको उचाई बढ्दै गएको थियो । तर, यी सबै चाल भारतसँग बलियो बार्गेनिङ कार्ड तयार गर्नका लागि रहेको घटनाक्रमले उजागर गर्दै गएको छ ।
नाकाबन्दीमा ओलीद्वारा भारतको विरोध पनि रणनीतिक मात्र थियो भन्ने प्रमाणित भएको छ । उनले त्यही रणनीतिबाट चुनावी सफलता हासिल गरे । तर, जनताले ओलीको जुन अडानलाई मत दिए त्यो छाडेर भारतसँग सौदावाजी गर्न थाले ।
केही समय ओलीले बार्गेनिङको कार्ड मजबुत बनाउन चालवाजी गरिरहे । कालापानी क्षेत्र समेटेर चुच्चो नक्शा जारी गर्न लगाए । भारतले नेपाली भूमि हुँदै चीनसँग जोडिने रणनीतिक मार्ग बनाउँदा ओली कडा रुपमा प्रस्तुत भए । चुच्चो नक्शा तयार गर्दा राष्ट्रिय एकता नै देखियो ।
नेपाली काँग्रेसदेखि मधेशवादी दलका नेताले समेत चुच्चो नक्शा संसदबाट पारित गर्न मतदान गरे । नेपालको संसदमा दुई तिहाईले राष्ट्रिय हितको पक्षमा मतदान गरे । तर, ओलीले त्यही चुच्चो नक्शा देखाएर भारतसँग बार्गेनिङ गरे । भारतले पनि ‘आफ्ना पुराना मित्र’ ओलीसँग भित्री सम्झौताहरु गर्यो । त्यसका लागि विभिन्न तहमा भ्रमणहरु भए ।
गत वर्ष चारवटा महत्वपूर्ण भ्रमणहरु भारतबाट भए । जसमध्ये पहिलो भ्रमण भारतको खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलबाट भएको थियो । कात्तिक ५ गते चाटर्ड विमानबाट नेपाल आएका गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग साँझ भेटवार्ता गरेका थिए । गुप्तचर प्रमुखसँगको भेटको खुलासा बालुवाटार आफैले गरेको थियो ।
त्यो भ्रमण किन भएको थियो र के कस्ता भित्री सम्झौताहरु भएका थिए ? अझै खुल्न सकेको छैन । भारतका सेनाप्रमुख एमएस नरवाणे, विदेश सचिव हषवद्र्धन श्रृंगला हुँदै सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए । यी भ्रमणहरु के का लागि भएका थिए भन्ने कुरा ओलीले चालेका एकपछि अर्को कदमले बताइरहेको छ ।
विदेशी चलखेलको विरोध
नेपाली राजनीतिमा विदेशी शक्तिको चलखेल बढेको छ । यो फगत आरोपभन्दा पनि तथ्यगत तर्क हो । पूर्व प्रधानमन्त्रीहरुले समेत संयुक्त विज्ञप्तिमार्फत विदेशी चलखेलको विरोध गर्नुले यसको पुष्टि हुन्छ ।
भारतबाट उच्च तहको भ्रमणपछि ओलीले आफ्ना अभिव्यक्तिदेखि गतिविधिमै फरक शैली देखाए । पशुपतिनाथको जलहरी र विशेष पूजा भारतको संस्थापन पक्षलाई खृशी बनाउने रणनीति थियो । चितवनको माडीमा राम मन्दिर निर्माणको थालनी गरेर ओलीले भारतीय हिन्दुवादीहरुको साथ लिन खोजेको देखियो ।
भारतको संस्थापन पक्ष भाजपा नेपालमा हिन्दु राष्ट्र चाहिरहेको देखिन्छ । ओलीले उनीहरुको मन जित्ने उपयुक्त रणनीति बनाएर अगाडि सरेका थिए । देशभित्र कमल थापाहरुको साथ मिल्न थाल्यो । गेरुवस्त्र लगाएर हिंडन थालेका महन्थ ठाकुरहरुको साथ पनि ओलीले लिन सके । यसमा पनि वाह्य शक्तिको चलखेलले ठूलो भूमिका खेलिरह्यो ।
नाकाबन्दीको विरोध गर्ने र चुच्चो नक्शा जारी गर्न मुख्य भूमिका खेल्ने ओलीले कसरी भारतको साथ पाइरहे ? यो विषय उठ्न थाल्यो । ओली विरोधी गठबन्धन नै ओलीलाई भारतको साथ मिलिरहेकोमा गम्भीर भए । एकातर्फ, बेला बेलामा भारतको विरोध गरेजस्तो गर्ने अर्कोतर्फ देशको हितविपरित गएर भएपनि भारतलाई खुशी बनाउन खोज्ने ओलीको कुटिल शैली खुल्दै गयो । जसले ओलीसँग जुधिरहेका गठबन्धनका नेताहरुलाई झस्कायो ।
ओलीले संसदमा १५ सिट मात्र रहेको महन्थ ठाकुर समूहको साथ लिन ११ जनालाई मन्त्री बनाए । त्यसअघि उनीहरुले भनेबमोजिम अध्यादेशहरु ल्याए । १२० जना छुटाउन १५ वटा गम्भीर प्रकृतिका मुद्दाहरु फिर्ता गरे । यसमा दक्षिणी छिमेकी भारतको भूमिका खुल्दै गयो । काँग्रेस सभापति शेरबहादुर देउवाले पहिल्यै ‘ओली भारतको टाङमुनी छिरेको’ भनिसकेका थिए ।
ओलीले भारतको ‘त्वंशरणम्’ गरिरहेको देउवाको अभिव्यक्ति सामान्य अवस्थामा आएको थिएन । प्रचण्डले ओलीको ‘भारतभक्ति’को विरोध गर्दै आएका थिए । माधव नेपाल देशलाई नै दाउमा राख्ने ओलीको चालबाट झस्किएका थिए । उनले गत वर्ष नै ‘देश डुब्न लाग्यो माझी आउ बचाऊ’ भनेका थिए । उनले किन त्यसो भने अहिले बुझिदैछ ।
देशको बजेट घाटा पूर्तिका लागि भन्दै ओलीले बजेटमार्फत् ढुंगागिट्टी निकासी सहज गर्ने कदम चाले । यसलाई घर जलाएर खरानी बेच्न खोजिएको रुपमा लिइएको छ । सत्ताका लागि संविधान हुँदै राजनीतिक प्रणाली नै ध्वस्त पार्ने ओलीको नियत खुलिसकेको छ । उनले राजनीति सर्वोच्च अदालतमा पुर्याए ।
प्रत्यक्ष शासन गर्ने तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा पनि यस्तो भएको थिएन । अदालतले पार्टी फुटाउने र जुटाउने आदेश दिन थाल्यो । दलका अध्यक्षहरुको हातमा नै दलको बागडोर रहन छाड्यो । यसबाट नेताहरु फेरि झस्किए ।
प्रधानमन्त्री भइसकेका र अझैपनि राजनीतिको मूलधारमा प्रभावशाली रहेका पाँच नेताले शनिबार संयुक्त प्रेस वक्तव्यमार्फत् वाह्य शक्तिको हस्तक्षेप एवम् चलखेलको विषय उठाए । नेपालको इतिहासमा पहिलोपटक पाँच पूर्वप्रधानमन्त्रीहरुबाट राष्ट्रियताको मुद्दामा गम्भीर विषय उठ्यो । नेपालको निर्णय अधिकार खोसिदै गएको आशयका साथ वक्तव्य आयो ।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि निरंकुश हमला भइरहेको उल्लेख गरे । अन्तिम वाक्यमा विदेशी हस्ताक्षेप र चलखेको विषय उठाइएको छ । यसमा ओलीलाई नै कारण देखाइएको छ । यो सामान्य परिस्थिति होइन ।
शक्तिसंघर्षमा मूल्य मान्यतासमेत बिर्सेर जालझेलपूर्ण क्रियाकलाप देखाएर ओलीले राजनीतिलाई विकृत बनाइसकेका छन् । गुण्डानाइकेहरु सत्तामा निर्णायक शक्ति हुनथाले । राजनीतिक प्रणालीप्रति नै वितृष्णा आउने परिस्थिति विकास भइरहेको छ । राजा फर्काउन सक्रिय शक्ति चलखेल बढाइरहेका छन् । अदालतमा शक्ति केन्द्रित हुँदै गएको छ ।
राजनीतिक शक्ति कमजोर बनाइएका छन् । राजनीतिक रिक्तता पैदा भइरहेको छ । जसमा वाह्य शक्तिले चलखेल गरिरहेका छन् । यसबाट देशका लागि ठूलो चुनौती बढ्दै गएको छ । ओलीको सत्तास्वार्थले विकास भएको यो अवस्थाबाट देशलाई पार लगाउनुको विकल्प छैन ।