Logo
Logo

बालुवाटारका ‘बा’बाट धोकैधोका !


दृष्टि संवाददाता

167.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदरका लागि भन्दा बढी चाकडीका निम्ति ‘बा’ भनेर पुकार्नेहरुको जमात छ, नेकपा (एमाले) भित्र । ०७४ को निर्वाचनलगत्तै दुईतिहाइ मतसहित दोस्रोपटक प्रधानमन्त्री बनेका ओलीले २०७८ जेठको २७ गतेसम्म आइपुग्दा १८ औँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । तर, ‘बा’ भन्नेहरुमध्ये १८ चोटि सरकार हेरफेर हुँदा पनि गोकुल बाँस्कोटाबाहेक कसैले मन्त्री बन्ने अवसर पाएनन् । अब हिँड्ने बेलामा त मन्त्री बनाउँलान् भनेर आश गर्नेहरु पनि निराश हुन थालेका छन् । सम्भवतः ओली नेतृत्वमा यो मन्त्रिपरिषद नै अन्तिम हो ।
पछिल्लो पटकको पुनर्गठनमा गृह वा सञ्चारमन्त्री हुने पक्कापक्की भएको बजार हल्ला चल्नासाथ बधाई खाँदाको भ्यानभ्याईमा थिए, महेश बस्नेत । यसपटक मात्र होइन, पटक–पटक मन्त्रिपरिषद हेरफेर हुँदा बधाई खाँदै आएका महेश जहिले पनि अन्तिममा ‘हिस्स …, हरिया दाँत’ भन्ने नियतिको शिकार बन्दै आएका छन् । यसचोटि पनि त्यस्तै भयो ।

युवा नेता महेश बस्नेतले ओलीका लागि गर्न केही पनि बाँकी राखेका थिएनन् । गत वर्ष नै लकडाउनको बीचमा जनता समाजवादी पार्टी फुटाउन उनले सांसद नै अपहरण गरे । पूर्वआइजिपी सर्वेन्द्र खनाललाई लिएर वीरगञ्ज पुगेका उनले त्यहाँबाट फर्किंदा जसपाका सांसद प्रदीप यादवलाई अपहरण गरे । तर, जसपा फुटेन । बरु, खनाल, बस्नेतसहितका व्यक्तिविरुद्ध अपहरण मुद्दा दर्ता भयो ।

त्यसको एक वर्षपछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनुपर्ने भएपछि महेश बस्नेतले जसपाका सांसदहरुलाई आफ्नै घरछेउको रिसोर्टमा लगेर खुवाए–पिलाए । ओलीले विश्वासको मत पाएनन् र पदमुक्त भए । उनी संविधानको धारा ७६ (३) बमोजिम पुनः प्रधानमन्त्री नियुक्त भए । त्यसबेला पनि महेश मन्त्री बन्छन् भन्ने बजार हल्ला राम्रैसँग चल्यो । घरमा बधाई दिनेहरुको ताँती लाग्यो । तर, मन्त्री बनेनन् ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदच्युत हुने पक्कापक्की भएपछि उनी पोखरा पुगे । जनमोर्चा सांसद खिम बिक्रम शाहीलाई अपहरणको शैलीमा चरक अस्पताल पुर्याए । कोभिड परीक्षणमा नेगेटिभ रिपोर्ट आएका सांसद शाहीलाई कोभिड संक्रमितको रुपमा अस्पतालको आइसियु वार्डमा भर्ना गरे ।

फलतः त्यही वहानामा अविश्वासको प्रस्तावमा माथि छलफल शुरु हुन नपाउँदै अनिश्चितकालका लागि सदन स्थगित गरियो । पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिए । लगत्तै दीपक मनाङेको साथ लिएर पुनः मुख्यमन्त्री नियुक्त भए । यसबापत महेश बस्नेतले संघीय सरकारको मन्त्रिपरिषद्मा ठाउँ पाउने भरमार आश राखेका थिए । उनको माग थियो, गृह मन्त्रालयको ।

ओलीले गृह नसके पनि सञ्चार दिन सकिने संकेत गरेका थिए । त्यसपछि महेश ढुक्क नहुने कुरै भएन । बालुवाटारबाट घर फर्कदा घरमा बधाई मात्रै थापेनन्, ‘मन्त्री भएपछि’ यसो गरौँला र उसो गरौँला भनेर निकटस्थलाई आश्वासन पनि बाँढ्न भ्याइसकेका थिए ।

महेश बस्नेतलाई बालुवाटारका ‘बा’ ले मन्त्री बनाउन चाहेका थिए । तर, त्यहाँ ‘बा’का अरु मान्छे हाबी छन्, जसले महेश बस्नेतलाई देखि सहन्नन् । ती मान्छेहरुले महेशको नाममा टिपेक्स दलिदिए । यसपछि महेश र उनका निकटस्थको आक्रोश खनियो, ‘बा’ माथि नै ।

उनका खास मान्छेका रुपमा चिनिने किरण पौडेलले एमालेभित्र राणाकालीन तथा मध्य शाहवंशीय कालीन षड्यन्त्र र दाउपेचजस्तै युवाविरुद्ध हत्कण्डा भइरहेको टिप्पणी गरे । उनले यसो भन्नुको कारण थियो, महेश होलान् भनिएको सञ्चारमन्त्रीमा रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा पुग्नु । यो घटनापछि महेश र उनका मान्छेहरु ओलीलाई अब बालकोट पनि छिर्न नदिने, झापातिरै पठाउने भन्न थालेका छन् ।

यसरी ओलीलाई ‘बा’ भन्ने महेशपछि विक्षिप्त बनेका अर्का कार्यकर्ता हुन्, गोकुल बाँस्कोटा । २७ गते पुनर्गठित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधारमन्त्री बन्ने कुरामा ढुक्क भएर बसेका उनको हालत पनि महेश बस्नेतको जस्तै भयो । संसदबाट विश्वासको मत नपाएर पदमुक्त लगत्तै प्रधानमन्त्री नियुक्त हुँदैमा मन्त्री बन्ने आशामा बसेका गोकुल २७ गतेको १८औँ पुनर्गठनमा पनि नपरेपछि उनी यति धेरै भावुक बनेकी, छिनछिनमा फेसबुक अपडेट गर्ने उनले नवनियुक्त मन्त्रीहरुलाई तीन दिनपछि मात्रै एकमुष्ट बधाई लेखे ।

ओलीलाई ‘बा’ भनेर मन्त्री बन्न चाहेकीमध्ये अर्की हुन्, निरुदेवी पाल । ०७४ मा ओली सरकार गठन हुनुअघि नै मन्त्री बन्ने पृष्ठभूमि बनाउन मध्यबानेश्वरमा दिनदहाडै कञ्चटमा पेस्तोल ताकेको भनी रोइलो मच्चाइन् । तर, त्यति गर्दा पनि उनी मन्त्री भइनन् ।

संसदीय समितिको सभापति भइन् । तर, मन्त्री बन्ने उनको चाहना अझै जारी थियो । उनी पनि महेश बस्नेतझैँ पटक–पटकको पुनर्गठनमा मन्त्री पद आउला र खाउँला भनेर बस्दैमा जुनी बित्न लाग्यो । १८ चोटि सरकारको हेरफेर हुँदा पनि हेरेको हेर्यै हुनुले उनलाई एकदमै नमज्जा भएको बताइन्छ ।

झलनाथ–माधव नेपालबाट केही पनि पाइँदैन भन्ने ठहर गरेर ओलीलाई ‘बा’ भन्दै हिँडेकी भगवती चौधरी पनि आफैँले ‘यसचोटि मन्त्री बन्छु’ भनेकी थिइन् । तर, उनको सपना पनि अधुरै रह्यो । ओलीपक्षीय एमालेले जिल्ला इञ्चार्ज–सहइञ्चार्जको जिम्मेवारी तोक्ने क्रममा शुरुमा सुनसरीको सहइञ्चार्ज बनाइँदा बैठक छाडेर हिँडेकी भगवतीलाई सर्कुलर जारी गर्दा इञ्चार्जमा नाम राखेर खुशी बनाइएको थियो ।

इञ्चार्जका रुपमा जिल्ला फर्किंदा उनले कार्यकर्ता सामु भनेकी थिइन्, ‘मलाई ‘बा’ ले मन्त्री बनाउँदै हुनुहुन्छ ।’ तर, उनी मन्त्री बन्न सकिनन् । पाएको जिल्ला इञ्चार्ज पद पनि बढी भयो भनेर बालुवाटारका मान्छेहरु चर्चा गर्ने गर्दछन् । भगवती ०७४ को चुनावमा विजय गच्छेदारसँग पराजित भएकी थिइन् ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा समानुपातिक सांसद बनेकी उनले राज्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । त्यसपछि क्याबिनेट मन्त्री बन्नका लागि ओली पक्षमा लागेकी उनी यसचोटि १८ पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि मौका पाइनन् ।

पुस ५ पछि सांसद नभएका मान्छेलाई पनि ओलीले मन्त्री बनाएपछि मन्त्रीको आश गरेर बसेका अर्का व्यक्ति हुन्, कर्ण थापा । उनी पनि ओलीलाई ‘बा’ भन्नेभित्रका हुन् । सुदूरपश्चिम प्रदेशको पार्टी अध्यक्ष बनाइएका उनले आफू नबने पनि कान्छीपत्नी कमला ओलीलाई केही न केही बनाउनुपर्ने माग गर्दै आएका थिए ।

उनलाई केही समयअघि राष्ट्रिय सूचना आयोगको सदस्य नियुक्त गरियो । तर, पत्नीले नियुक्ति पाएपछि पनि पति कर्ण थाापाले मन्त्री बनाउनु पर्यो भन्दै दौडधुप गरिरहेका थिए । बालुवाटारका मान्छेहरुको झुण्डले भन्ने गरेको छ, ‘उहाँको कोटा पत्नीले खाइसक्नुभयो ।’

ओलीलाई ‘बा’ भन्न लगाउँदै मन्त्रीको आश्वासन दिइएकाहरु पनि यसचोटि हिस्स परे । संविधानको ७६ (५) बमोजिमको प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावीलाई समर्थनस्वरुप हस्ताक्षर गर्ने भनिएका एमाले सांसदमध्येमा थिए, सुनसरीका जयकुमार राई । उनी एकाएक योगेश भट्टराई, गणेश पहाडीहरुसँगै हस्ताक्षरबाट पछाडि हटेका थिए । उनलाई बालुवाटारेहरुले खेलकुदमन्त्री बनाउने आश्वासन दिएका थिए । तर, खेलकुदमा झैँ मन्त्रीका लागि दौडाइयो, तर मन्त्री बनाइएन ।

जयकुमारकै हालतमा पुगेकी छन्, समानुपातिक सांसद गंगा चौधरी सतगौवा । उनी ओलीले संसदमा विश्वासको मत लिँदा अनुपस्थिति हुनेमध्येकी थिइन् । तर, पछि मन्त्री बन्ने आश्वासन पाएर गुट फेरिन् । तर, न मन्त्री पाइन्, न पुरानो गुटमा फर्किन सकिन् ।

धनकुटाका राजेन्द्र राईले पनि अरुका लागि हैन, मन्त्री बन्नकै लागि फेसबुकमा ‘बा’ को बाटो रोजेका थिए । तर, दुई–दुईपटक चुनाव जितेर आउँदा पनि उनी ‘बा’ बाट पत्याइएनन् । बरु, ओखलढुंगाका यज्ञराज सुनुवार, समानुपातिक सांसद निरुदेवी जैरु, कलिला खातुनहरुले निरन्तर पाउँदै आएको मन्त्रीको आश्वासनको वास्ता गरेनन्, आफ्नो विचार समूह नै रोजे । राजेन्द्र गौतमको कानमा पनि चिनी हालिएको थियो, त्यो चिनीमा मन्त्री होइन, कमिला पस्यो ।

भनिन्छ, मन्त्री बन्नका लागि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने लाइनबाट हटेका गणेश पहाडी पनि अन्तिममा योगेश भट्टराईको धम्कीका कारण मात्रै मन्त्री बनेका हुन् ।

मन्त्री बन्नेहरुको सूचीमा पहाडीको नाम नपरेको सूचना पाएपछि बालुवाटार पुगेका योगेशले आफूसँग अहिले पनि माधव समूहका १० सांसद रहेको भन्दै ‘बा’ लाई फकाएका थिए । त्यति भन्दा पनि नमानेपछि ल्याएका पाँच जनालाई पनि ‘फिर्ता लगौँ ?’ भन्दै धम्क्याएपछि ओली गलेका हुन् भन्ने कुरा ओली निकेट स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्