Logo
Logo

मेलम्ची क्याम्पबाट ४७ जनाको उद्दार, अझै २३ सम्पर्कविहीन


दृष्टि संवाददाता

1.4k
Shares


काठमाडौं ।
अविरल वर्षापछि सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु नेपाली सेनाले उद्धार गरेको छ ।

हेलम्बु गाउँपालिका –१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकै क्याम्पमा बस्ने ७० जना कामदार बाढीमा फसेका थिए । उनीहरुमध्ये ४७ जनालाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई सेनाको हेलिकोप्टरले ३/४ खेप गरी उद्धार गरेको हो । मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् ।

आयोजनाको कर्मचारी मजदुरहरुको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाताहरु खटिरहेको र बेपत्ताहरुको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

अम्बाथान क्याम्पमा नेपाली, भारतीय र चिनियाँ कम्तिमा ७० जना कामदार रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार उद्धार कार्यमा अझै समस्या छ । त्यसैले अझै २३ जना सम्पर्कविहीन छन् ।

बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगे पनि हालसम्म सुरुङ भने सुरक्षित रहेको उनको भनाइ छ । मेलम्चीमा आएको बाढीले हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्