काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ ।
यस्तै नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पनि बहाव बढ्ने छ । तर यसबाट मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने छ । तर यी नदीबाट पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको छ ।
प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहेको महाशाखाले अनुमान गरेको छ ।