काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।
अध्यक्ष यादवले आज बिहान ११ः ३० बजे बस्ने गरी गत मंगलबार बैठक बोलाएका थिए । जसपाको केन्द्रीय कार्यालय ललितपुरस्थित बालकुमारीमा बैठक बस्ने भएको हो ।
जसपाभित्र अर्का अध्यक्ष महन्थ ठाकुरपक्ष र यादवबीच बिबाद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ठाकुर पक्ष सहभागी भएपछि बिबाद बढेको हो ।
पछिल्लोपटक प्रदेश नम्बर २ मा सरकार पुनर्गठन गर्दै यादवनिकट मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष ठाकुर निकटका मन्त्रीहरू हटाएर नेपाली कांग्रेसलाई सरकारमा लगेका थिए ।
यसैबीच जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकअर्कालाई गरेको कारवाही निर्वाचन आयोगले कार्यान्वयन गर्न नसक्ने बताएको थियो ।