रुपन्देही । २०३८ साल असोज १३ गते बुटवल खसौली (दाब्रेटोल) देबिनगर, योगिकुटी पश्चिम क्षेत्र, नहरपुर, रानीगन्ज, बेलबास, पदमपुर, मोतिगन्ज, पथरगन्ज, चम्किपुर, उजेलापुर लगायतका ठाउँहरुका निम्ति विनासकारी दिन थियो ।
तीन चार दिनको अविरल वर्षा पाल्पाको चर्चरेमा पहिरो गएपछी तिनाउखोला थुनिएछ, पानीको बहाब बन्द भयो । पानी थुनिएर माडी फाटसम्म चुलियो, पहिरोले थाम्न सकेन एक्कासी बाध फुटेपछी तिनाउ उर्लेर सनरन चारै तिर समुद्रको ज्वारभाटा जस्तै माथी उल्लेखित स्थानहरु ढाक्यो ।
म कक्षा चारमा पढ्थे । हाम्रो गाउँ अलि अग्लो स्थानमा थियो । खेतभरी ओसन धान पहेलपुर, सानो धान पसाएपछी दाना लाग्दै थियो । ठूलो आवाज गड्याङ गुडुङ सोस्सायो, अबिरल झरी भएपनी बर्षा याम सिद्दिएकोले बाढी नै आयो भन्ने भएन ।
गुहार गुहारको आवाजसहित चिच्याहट भयो । ५०० मिटर उत्तर अग्लो ठाउँ तर्फ गाउलेहरु दौडादौड भयो । म पनि दौडदै त्यहाँ पुगे, घरका छाना बाढीमा तैरीरहेका थिए, छाना माथी मानिसहरु बगिरहेका थिए । हाम्रा बाल्सखाहरु झलके र कृष्णहरुको घर बगाई सकेछ । गढिटोलका ब्यापारीका मट्टीतेलका टिनहरु भुर्लुक्क भुर्लुक्क डुबुल्की मार्दै बगीरहेका थिए ।
गाईवस्तुहरु छिन छिनमा मुन्टो देखाउँदै भेल सँगै लुकामारी खेल्दै बग्दै थिए । असंख्य ठुला ठुला रुखहरु जरै सँग बगाइरहेको थियो । सय मिटर पर ठकुरी बाउसापको घर दुई तलाको भएर होला ढिलो बगायो । बाउसाप छानामाथी हात जोड्दै टाटा बाईबाई गर्दै बाढिको भेलसङ्गै लोप हुनुभो ।
रुपाकोटेको घरको फुस्को छानामाथी चार पाँचजना मुसलधारे पानीमा मुसो जस्तै भिजिरहेका थिए । सायद खावाहरु गहिरो गाडेको हुनाले भेलले बगाउन सकेको थिएन । त्यो स्थानका बीसौ घरहरुमा दुईवटा घर बगाएको थिएन । त्यो दिन दर्दनाक पीडा हेरेर बित्यो, खान पनि मन लागेन ।
तिनाउले बाढी मात्र बगाउन्न पहाडको स्वच्छ र चिसो हावा पनि प्रवाह गर्छ । तिनाउले हजारौं घर बनाउन गिटी बालुवा, ढुंगा प्रदान गरेको छ । यद्यपि सर्वसाधारणले महँगोमा किन्नुपर्छ । तिनाउको प्रवृत्ति ०३८ सालको बाढी देखेकालाई थाहा छ । उनीहरु बरु एक छाकमात्र खालान् तर नदी किनारमा घर बनाउन । जो पछि आए, ०३८ सालको वितण्डा देखेनन् । उनीहरुले खाली जमिन र सुकुम्बासी नेता मात्र देखे ।
अर्को दिन पनि बाढिकै भेल थियो, उद्दारका निम्ति मानिस तम्सिन्थे तर सक्दैनथे। तीन दिन पछि खोला केही सुक्यो, ती दुई घरलाई रसी टागेर नयाँगाउँ तर्फबाट उद्दार गरिएछ । झलक साथीका दुई दाई दुई किमी तल चम्किपुर गाउँमा कासको गाझ छोपेर बाच्न सफल भएछन् ।
घटनाको तीनदिन पछि हेर्न जाँदा कपडा सितका मान्छेका लास छितरिएका , ठुला ठुला रुख तेर्सिएका , हिलम्हिलो ढुङ्गै ढुङ्गा, गाईभैसी मरेर ढाढिएका दुर्गन्धसहित छरपत्र, दर्दनाक दृश्यहरु । नयाँगाउँ बेलबास रानीगन्ज गाउँहरुको त्यस्तै अबस्था ।
नदिले बहाब फेर्दै गयो । बिघौ खेतका प्लट काट्दै गयो । दुई बर्षपछि हाम्रो खेत पनि काटेर बगर बनायो । धेरै मानिसहरु सुकुम्बासी हुन पुगे । बाढिबाट बचेकालाई बर्दघाटमा सुकुम्बासी जग्गा दिइयो । पछि बुटवलको दिपनगर शिवनगरमा पनि सुकुम्बासी जग्गा बाँडियो । केही समय त हामी पनि दिपनगरमा स्याउले घर बनाई बसियो । तिनाउले सारा बस्ती बगरमा परिणत गर्यो । समय बित्दै गयो । ती बगरहरु कास (खर) र बिनापाते (कुचो बनाउन उपयुक्त बुट्यान) का झाडीमा परिणत भए । गाईभैंसी चरणको स्थान बने ।
२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् देशमा (केही सत्य)बाहेक कृत्रिम सुकुम्बासी बस्तीको लहर चल्यो । गरिब भुमिहिन किसानको एजेन्डा नै बोकेर सर्बहारा पार्टी सुकुम्बासी आन्दोलनकै लागि आयो । खाली जमिन, बगर, कुलाका ढिक, सार्वजनिक चौर, कान्ला देख्नै भएन । खाली ठाउँ त नम्बरी जग्गा पनि बचाउनै गाह्रो भयो ।
सुकुम्बासी समस्या निराकरण नहुने रोग बन्न पुग्यो । रोचक बिषय यो साल सुकुम्बासी बस्ती बस्यो भने दुई सालपछि त तीनतले सुपरमार्केट मल पो बन्न थाले । ती बस्तीहरु भोट बैंक बन्न पुगे । ०४८ पछि बनेका सरकारबाट नदिजन्य गिटि ढुंगा बालुवा भारत निकासीको व्यापार बन्यो । तिनाउका बगरबाट दिनहुँ पाँच सय ट्रकमा गिटी ढुुंङ्गा निकासी हुन थाल्यो । नदीको भाग गहिरिँदै साँघुरिदै गयो ।
खोलाले छोडेको जमिन बर्सेनि बाँड्दै गए । टाठाबाठा पाखुरामा बल भएका त चोक चोकमा बडेमानका सुकुम्बासी बन्न पुगे । सर्वसाधारण भूमिहिनले भने पानी बगेको ठाउँबाट खम्बा उठाएर घर बनाउन थाले । करिब डेढ किमी फराकिलो खोला हिजोआज दुई सय मिटरमा साँघुरियो ।
हिउँदभरी सामान्य जीवनयापन हुने नदी किनारा बस्तीहरु बर्षायाम लागेपछि त्राहीत्राही हुन पुग्छन् । जब धमिलो पानीको सतह बढ्छ, तब रेडियो र टिभीका समाचार बन्न पुग्छन् । तल देखिएको तस्बिर महेन्द्र राजमार्ग बुटवल पक्की पुल मुनिको हो ।
०३८ सालको बाढिपछी त्यो नदीको भेल उर्लने ठाउँ हो । गिटी बालुवा निकालेपछि खोला साँघुरियो । हल्का खोलाले छोड्यो भनेर घर बनाइयो । बर्सेनी बाढी आएपछि बस्तीमा खोलो पस्यो । मान्छेको बिचल्ली भयो भनी समाचार आउँछ । दलका नेता र नगर पदाधिकारी छाता ओढी निरीक्षण गर्न पुग्छन् । न तिनीहरुलाई त्यहाँबाट सार्ने प्रयास हुन्छ किनकि स्थायी समाधान भयो भने भोटको एजेण्डा केलाई बनाउने ? कथमकदाचित सार्न खोज्यो भने न तिनिहरु त्यहाँबाट अन्यत्र सर्छन् । किनभने मुख्य बजारदेखि नजिक छन् टाढा जान रुचाउन्नन ।
हुन त देशका अरु स्थानमा पनि बाढीको भयावह स्थिति छ । सिन्धुपाल्चोकले सबैभन्दा दर्दनाक पीडा भोगेको छ । तर, म बुटवलको बासिन्दा भएकोले तिनाउको बाढी, यहाँका नेतृत्व बासिन्दा र प्रवृत्तिसँग अनुरोध गर्न चाहे । तिनाउ सिचाइँको स्रोत हो, तिनाउ खानेपानी संरक्षणको भुमी हो ।
तिनाउले बाढी मात्र बगाउन्न पहाडको स्वच्छ र चिसो हावा पनि प्रवाह गर्छ । तिनाउले हजारौं घर बनाउन गिटी बालुवा, ढुंगा प्रदान गरेको छ । यद्यपि सर्वसाधारणले महँगोमा किन्नुपर्छ । तिनाउको प्रवृत्ति ०३८ सालको बाढी देखेकालाई थाहा छ । उनीहरु बरु एक छाकमात्र खालान् तर नदी किनारमा घर बनाउन । जो पछि आए, ०३८ सालको वितण्डा देखेनन् । उनीहरुले खाली जमिन र सुकुम्बासी नेता मात्र देखे ।
खोला र कुला साँघुरो बनाउने, भीर ताछेर घर बनाउने, पानीको बहाव रोक्न खोज्ने, प्रकृतिलाई जित्न खोज्ने महसुरहरु हौँ । खोलामा बाढी नआएर के आउछ ? यो त सामान्य बर्षाको बाढी हो । दैवको कुदृष्टि परेर नदीमार्गमा पहिरो गई दस मिनेट प्रवाह छेकियोस् त, क्षतिको अनुमान नै गर्न सकिन्न ।
पहिला पहिला जस्तो ढुंगा मुढा सहितको बाढी आएको छैन । नआओस पनि तर, हामी प्रकृतिसँग पैठेजोरी नखेलौँ । बस्तिमा खोला पस्दैन, खोलामा बस्ती बसालेर समस्या आएको हो । आगो र पानीसँग खेलवाड नगरौँ । नदीलाई आफ्नो बाटोमा बग्न दिऔँ । पूर्व सावधान अपनाउ, सुरक्षित रहौँ ।