काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री भएको एक साताभित्रै उनले विश्वासको मत लिन लागेका हुन् ।
शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री भएका थिए । उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग रहेको छ ।
विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री नेपालीले मन्त्रिपरिषद विस्तार तथा यसअघि बनाएका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री चढेर मनाङ पुगेको सेनाको हेलिकप्टर उद्धारमा लागि मनाङमै रोकिएका थिए । मौसम खुलेपछि शुक्रबार बिहान नेपाली सेनाकै हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल पोखरा फर्किएका छन् ।
पोखराबाट गएको हेलिकप्टर मौसमका कारण ल्याण्ड गर्न नसकी बिहीबार पोखरा नै फर्किएको थियो । चाउचाउ, चिउरा र इन्धन बोकेर मनाङ पुगेका मुख्यमन्त्री पोखरेलले स्थतगत निरीक्षण, स्थानीय प्रशासनसँग छलफल गरेर फर्किएको बताए ।
४ दिनदेखि परेको पानीका कारण आएको बाढी, पहिरोले मनाङमा १ हजार बढी विस्थापित भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको छ ।