काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दावी गर्दै अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ ।
शुक्रबार यादव पक्षका जसपा नेताहरु आयोगमा पुगेर आफुसंग बहुमत कार्यकारिणी सदस्य रहेका भन्दै ३० जना सदस्यको हस्ताक्षरसहित आधिकारीताका लागि निवेदन दिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिइएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । अध्यक्ष यादवसहित नेता अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत नेता आयोग पुगेर आफू आधिकारिक भएको दावी गर्दै निवेदन दिएका हुन् ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । सत्ता समीकरण गर्ने सम्बन्धमा जसपा दुई पक्षमा स्पष्ट रुपमा विभाजन भएको हो ।
पार्टीका अर्का अध्यक्ष अध्यक्ष महन्थ ठाकुर पक्ष अहिले सरकारमा छ । यादव पक्ष भने विपक्षी गठबन्धनमा रहेर संघर्ष गर्दै आएको छ । तर, दुवै पक्षले एक–अर्कालाई कारवाही गरेर पार्टीबाट निस्काशन गर्ने क्रमसँगै यादव पक्षले आफू नै पार्टीको आधिकारिकता दावी गर्दै आयोग गएको हो ।