पोखरा । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको नयाँ सरकार बनेसँगै कुन दलको भागमा कति मन्त्रालय भन्ने टुंगो लगाएको छ । मुख्यमन्त्रीसहित ११ मन्त्रालय रहेको प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले चार–चार मन्त्रालय पाएको छ ।
यस्तै, जनता समाजवादीले दुई मन्त्रालय पाउने भएको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् भने अब थप दुई मन्त्री थपिँदैछन् ।
यस्तै, सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी (गुरुङ) मन्त्री बनिसकेकी छन् भने अब माओवादीबाट तीन मन्त्री थपिनेछन् । गण्डकीमा माओवादी केन्द्रका सभामुख नेत्रनाथ अधिकारीसहित १२ जना सांसद छन् ।
जसपाका दुई सांसद नै मन्त्री बन्ने भएका छन् । हरिशरण आचार्य उक्त दलबाट मन्त्री बनिसकेका छन् । स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) पनि मन्त्री भइसकेका छन् । भागबन्डामा संख्याको टुंगो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिनेमा निर्णय भने भएको छैन । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयसहित ४ मन्त्रालय माओवादीले दाबी गरेको छ ।