काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थानबाट अर्को स्थानमा पुर्याउनका लागि गरेको प्रयत्नको प्रशंसा गरेका छन् ।
मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप लैजानका लागि मिहेनत पूर्वक खोला तारिरहेको भिडिओ ट्विट गर्दै गेहब्रेयसले प्रशंसा गरेका हुन्। उनले स्वास्थ्यकर्मीलाई नायक भन्दै प्रशंसा गरेका छन्।
असार १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन राख्ने भाँडोलाई पारी तारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
उक्त भिडियो सेयर गर्दै गेहब्रेयसले ज्यान बचाउनका लागि स्वास्थ्यकर्मीले कति टाँढा पुग्छन् भन्ने देखाएको उल्लेख गर्दै कतिपय स्थानमा यी नायकहरुले खोप नपाएको बताए। उनले के यो उचित हो भन्दै प्रश्नसमेत गरेका छन् ।
‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’
उनले सबैतिर खोप पुर्याउनका लागि हरसम्भव प्रयास गरिरहेको उल्लेख गरेका छन् । टेड्रोसले भनेका छन्, ‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने ?’