काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ । सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन् । ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन् ।
सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो । २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे । २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो । १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री भए ।
बाँस्कोटाले २०७६ फागुन ८ गते राजीनामा दिएपछि वसन्त नेम्वाङ उक्त मन्त्रालयको जिम्मेवारीमा आए । नेम्वाङपछि कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री भए । त्यसपछि २०७७ असोजमा प्रभु साहले उक्त मन्त्रालयको जिम्मा लिए ।
हाल राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हालिरहेका छन् । ओलीलाई समेत जोड्दा तीन वर्ष चार महिनाको अन्तरालमा सहरी विकासमा सातपटक मन्त्री फेरिएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।