काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन् । उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन् ।
सभापति देउवाले १४औं महाधिवेशनमा पनि आफू उम्मेदवार बन्न लागेकाले सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन्, ‘उहाँले म अन्तिमपटक उठ्ने हो, सहयोग गर्नू भन्नुभएको छ । हामीले उपसभापति निधिसहित सम्पूर्ण टिमलाई एक ढिक्का बनाएर अघि बढ्न भनेका छौं ।’
देउवाले उपसभापति निधिलाई अर्को पटक सभापतिको उम्मेदवार बन्न आग्रह गरेका थिए। जवाफमा निधिले आफू धेरै अघि बढिसकेको बताएको देउवाले निकटकालाई सुनाएका छन् ।
देउवाले आफू टिमका लागि मात्र नभएर सिंगो पार्टीलाई नै एकढिक्का बनाएर अघि बढ्ने पक्षमा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । ‘म सभापतिमा एकपटक उठ्छु, कुनै दुविधामा नपर्नुहोला,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘विगतमा जस्तै तपाईंहरूबाट सहयोगको अपेक्षा गरेको छु ।’
सहभागीले १३औं महाधिवेशनमै १४औं महाधिवेशनमा निधिलाई सहयोग गर्ने आश्वासन तपाईं (देउवा) ले दिएको र एक वर्षअघि नै निधिले सभापतिमा आफूले उम्मेदवारी दिने भन्दै सहयोग मागेको विषयमा पनि देउवासँग चासो राखेका थिए। ‘सभापतिमा हाम्रो टिमबाट तपाई निर्विकल्प उम्मेदवार हो,’ सहभागी एक नेताले भने, ‘विमलेन्द्र निधिले पनि सभापतिमा दाबी प्रस्तुत गरेको कुरा बाहिर आएको छ । टिमलाई मिलाएर अघि बढ्नुहोस् । तपाईंले १३औं महाधिवेशनमै उहाँलाई छाड्छु भन्नु भएको कुरा के हो ?’
निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग मागेको स्वीकार गर्दै देउवाले यसपटक आफैं उठ्ने र १५औं महाधिवेशनमा सहयोग गर्ने आश्वासन दिएको बताए । तर त्यसलाई धिनिले अस्वीकार गरेको बताउँदै देउवाले भनेका थिए, ‘१३औं महाधिवेशनका बेला मपछि तँ हो भनेको हुँ। १४औं मै भनेको होइन ।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।