पर्सा । पर्सामा सेनाका एक जनाव गोली लागेर गम्भीर घाइते भएका छन् । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका हुन् ।
पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ ।
स्रोतका अनुसार आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएका हुन् । गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो ।
त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो ।
उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाको भनाई छ ।
‘