Logo
Logo

प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरु यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सन्चालनमा आएका छन् ।

जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले कोरोना संक्रमणको महामारी बढेपछि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाका अनुसार जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सेवाग्राही उपस्थित हुन सक्नेछन् ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार मंगलबारबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ । त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका सबै सरकारी एवं सार्वजनिक निकायलाई मंगलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

ललितपुर महानगरवासीले आइतबार, सोमबार र मंगलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने छन् ।

गोदावरी र महालक्ष्मीनगर पालिकामा बसोबास गर्नेहरुले बिहीबार र शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाउने व्यवस्था मिलाइएको छ । अन्य गाउँपालिकाहरुलाई भने बुधबार सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल ललितपुरले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा बार छुट्याएर पालिकाहरुलाई नियमित सेवा प्रदान गर्न सहजीकरण गरिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्