काठमाडौं । सशस्त्र प्रहरीका विवादास्पद डिआइजी प्रवीण कुमार श्रेष्ठले आजदेखि अनिवार्य अवकाश पाउने भएपनि पदावधि थप गर्न अझै चलखेल जारी राखेका छन् । त्यसमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल समेत लागेका छन् ।
स्रोतका अनुसार प्रहरी किताबखानाले बुधबार डिआइजी श्रेष्ठको अवकाशको पत्र सशस्त्र प्रहरी मुख्यालयमा पठाइसकेको छ । तर, महानिरीक्षक खनालले सो पत्र लुकाएर राखेका छन् । जबकी त्यसबारे उनले गृह मन्त्रालयलाई जानकारी गराउनुपर्छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठको पदावधि थप्ने निर्णय गर्न अस्वीकार गरेको थियो । तर, सोही मिति राखेर पदावधि थपिएको भनेर मन्त्रिपरिषद् बैठकको माइन्यूटीङ गराउन उनले चलखेल गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्तिलाई उनले यसका लागि आर्थिक प्रलोभन समेत दिएका छन् ।
व्यक्तिगत स्वार्थका लागि पटक पटक भारतीय दूतावास गएर देशका गम्भीर सूचना बेचेको आरोपमा दुई वर्षअघि गृह मन्त्रालयले उनलाई कारबाही गरेको थियो । कार्यक्षमतामा कमजोर भएकाले उनको पदावधि थप्न नहुने पक्षमा गृहका अधिकारी छन् । तर, उनले मुख्यसचिव शंकरदास बैरागीलाई दबाब दिइरहेका छन् ।