Logo
Logo

बेसीशहर नगरपालिकाको बजेट साढे ७२ करोड


दृष्टि संवाददाता

189
Shares

लमजुङ । लमजुङ बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पशुपालन तथा उत्पादनका क्षेत्रमा जोड दिँदै रु ७२ करोड ६५ लाख ४१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा उपप्रमुख लक्ष्मीदेवी अधिकारीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै कोरोना रोकथाम, नियन्त्रणलाई प्रथामिकता दिँदै चालु वर्षका भएका प्रगति र आगामी वर्ष लिइने नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उक्त सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ४० करोड ३३ लाख ४५ हजार ( ५२.५२ प्रतिशत) र पूँजीगततर्फ ३२ करोड ३१ लाख ९६ हजार(४४.४८ प्रतिशत) बजेट छ ।

त्यस्तै बजेटको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोत/राजश्वबाट रु चार करोड ८१ लख ४५ हजार, सङ्घीय र प्रदेश राजश्व बाँडफाँटबाट रु १० करोड ४१ लाख ७३ हजार, सङ्घीय र प्रदेश समानीकरण अनुदानबाट रु १५ करोड ९६ लाख २३ हजार, सङ्घीय र प्रदेश सशर्त, समपूरक र विशेष अनुदानबाट रु ३६ करोड ४६ लाख तथा चालु आवको असार मसान्तसम्म खर्च भई बाँकी रहने नगद मौज्दातबाट अनुमानित रु पाँच करोड छ ।

नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभाका सभासद्हरुको राय, सुझाव र परामर्शलाई मध्यनजर गर्दै आगामी वर्षका लागि योजनागत रुपमा बजेट निर्माण गरिने नगर प्रमुख गुमानसिंह अर्यालले बताए।

विषयगत रुपमा सबैभन्दा बढी सामाजिक विकासतर्फ ४१.८५, भौतिक पूर्वाधार विकासमा २५.५५, संस्थागत विकास तथा सैवा प्रवाहमा १६.१४, आर्थिक विकासमा १४.२८ र वातावरण तथा विपद् व्यवस्थापनमा २.१८ प्रतिशत बजेट बाडफाँट गरिएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए।

त्यस्तै नीति, कार्यक्रम तथा बजेटमा चालु वर्षको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो । चालु वर्षमा ६० प्रतिशत वित्तीय प्रगति भएको, ४०० योजना रहेकामा अधिकांश सम्पन्न भएको तथा बन्दाबन्दीको अवस्थामा पनि नगरपालिकाले प्रभावकारी सेवा प्रवाह गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्