काठमाडौं । पछिल्लो चरणको मन्त्रिपरिषद विस्तार संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतले खारेज गर्दै १८ मन्त्रीलाई पदमुक्त गरेपछि खाली रहेका मन्त्रालयहरुमा बाँकी मन्त्रीहरुलाई जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार मन्त्रीहरुलाई जिम्मेवारी तोक्दा विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह गरी चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्री बसन्तकुमार नेम्वाङलाई भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी, मन्त्री लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री आफैले राखेका छन् ।